नक्कली भुटानी शरणार्थी प्रकरण– बालकृष्ण खाणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा

नक्कली भुटानी शरणार्थी प्रकरण– बालकृष्ण खाणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा

काठमाडौं । पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामाथि सुनुवाइका लागि उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा परेको छ।

पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनको फैसलामा २ जना न्यायाधीशहरुको मत बाझिएपछि खाणको मुद्दा एकल न्यायाधीशको इजलासमा पेस गरिएको हो। 

नक्कली भुटानी शरणार्थी प्रकरणका अन्य अभियुक्तको हकमा उच्च अदालत पाटनका २ जना न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मंसिर १५ गते सर्वसम्मत तरिकाले फैसला सुनाए पनि खाणलाई थुनामुक्त गर्ने वा पुर्पक्षका थुनामै राख्ने भन्नेबारे मत बाझिएको थियो। दुई न्यायाधीशबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा मुद्दा पेस भएको हो। 

बिहीबार सुनुवाइ गर्ने न्यायाधीश कोइरालाले यसअघिका २ मध्ये जुन न्यायाधीशको रायलाई समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुनेछ। धरौटीमा रिहा गर्नेमा सर्मथन गरे खाण रिहा हुनेछन् भने थुनामै राख्नेमा सहमत भएमा थुनामै रहन्छन्। यदि बिहीबार सुनुवाइ गर्ने न्यायाधीशले अघिका दुई बाहेक तेस्रो राय दिएमा पुनरावलोकन निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट करोडौं ठगी गरेको प्रकरणमा खाणसहित पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डेसहितको संलग्नता बाहिरिएको थियो। 

उक्त प्रकरणमा काठमाडौं जिल्ला अदालतले असार १ गते थुनछेक आदेश जारी गर्दै खाणसहितका प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सुनाएको थियो। जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध खाणसहितका प्रतिवादीहरुले उच्च अदालत पाटनमा पुनरावलोकन निवेदन दिएका थिए।