आज राति वर्षकै ‘उत्कृष्ट’ उल्कावर्षा हेर्ने अवसर

आज राति वर्षकै ‘उत्कृष्ट’ उल्कावर्षा हेर्ने अवसर

काठमाडौँ । बिहीबार राति यस वर्षकै उत्कृष्ट उल्कावर्षा देखिन सक्ने सम्भावना रहेको खगोलविद्हरूले जनाएका छन् । यो वर्ष मंसिर १८ देखि सुरु मिथुन उल्कावर्षा पुस १ गते सम्म सक्रिय रहनेछ ।

तर उल्कावर्षाको अत्यधिक सक्रियता भने आज राति रहने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिनेछ ।

‘प्रतिघण्टा १२० देखि १५० सम्म देखिन सक्छ । अधिकतम १५० सम्म देखिएको छ । तर त्यसलाई भने तपाईंले कुन ठाउँबाट हेर्नुहुन्छ भन्ने कुराले निर्धारित गर्छ,’ भट्टराईले भने । उज्यालो र प्रदूषणले पनि उल्का वर्षा हेर्ने कुरालाई प्रभावित पार्ने उनको भनाइ छ । उज्यालो सहरबाट भन्दा बत्ती कम बल्ने गाउँ र पहाडी क्षेत्रबाट उल्का वर्षाको मनोरम दृश्य हेर्न सकिने उनी बताउँछन् । प्रकाश प्रदूषणका कारण धमिला उल्का वर्षाहरू नदेखिने उनले बताए ।

इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले यस उल्कावर्षालाई ‘जेमिनिड्स’ दिएको छ । आकाशमा जेमिनाई अर्थात् मिथुन राशिबाट आएको जस्तो देखिएकाले उक्त उल्का वर्षालाई खगोलविद्हरूले ‘जेमिनिड्स’ नाम दिएको भट्टराईले बताए ।

यो उल्कावर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटरमाथि जलेर देखिँदै छ ।

सूर्यको परिक्रमा गर्ने क्रममा यो पुच्छ्रे ताराले आफ्नो कक्षमा धूलोका कण र चट्टानहरु छाड्ने गर्छ । पृथ्वीले पनि सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रे ताराले छाडेको कण र चट्टानहरु नजिकै आउँछ । यसरी ती कण तथा चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । ठोक्किएर जलेका ती वस्तुहरुलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपालमा ‘तारा खसेको’ पनि भन्‍ने गरिन्छ ।

उल्कावर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदूषण काम भएको स्थानबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्नेछन् । अवलोकनको लागि मंसिर २८ राति ८ः०० बजे देखि भोलिपल्ट बिहान ५ः३० सम्मको समय अनुकूल हुने पनि नासोले जनाएको छ ।

उल्कावर्षा सामान्यतया मध्यरातपछि हेर्दा उत्तम रहने भट्टराईले बताए । मौसमले साथ दिएमा उल्कावर्षा हेर्नेहरूका लागि यो सन् २०२३ कै उत्कृष्ट समय हुनेछ। उल्कावर्षा हेर्नलाई कुनै दुरबिन वा टेलिस्कोपको आवश्यकता नपर्ने पनि खगोलविद्हरूको भनाइ छ ।