सुदूरपश्चिममा रास्वपाको ‘घण्टीमित्र’ अभियान सुरु

सुदूरपश्चिममा रास्वपाको ‘घण्टीमित्र’ अभियान सुरु

अत्तरिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिममा ‘घण्टीमित्र’ अभियान सुरु गरेको छ । अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै रास्वपाले अभियान सुरु गरिएको घोषणा गरेको हो । रास्वपा प्रति आस्थावान व्यक्तिलाई पार्टीमा जोड्नका लागि ‘घण्टीमित्र’ अभियान सुरु गरिएको रास्वपाका प्रदेश प्रवक्ता सन्तोष जोशीले बताए । उनले पार्टीको सदस्यता नलिएका तथा लिन नसक्ने व्यक्ति यस अभियानमा जोडिने बताए ।

अभियानमा जोडिनका लागि प्रदेश समितिले कार्यविधि बनाएर १ सय रुपैयाँ शुल्क निर्धारण गरेको जनाएको छ । यस्ता ‘घण्टीमित्र’ सदस्यहरू पार्टीका गतिविधि, बहस, छलफलमा सहभागि हुन  पाउने भएपनि पार्टीको अधिवेशनमा उम्मेदवार र भोटर भने बन्न नपाउने प्रवक्ता जोशीले बताए । उनले पार्टी सदस्यता शुल्क तिर्न नसकेर पार्टीमा जोडिनबाट बञ्चित भएकाहरू पनि यो अभियानमार्फत जोडिन सक्ने बताए ।

‘हामीले पार्टी सदस्यता ५ वर्षको लागि १ हजार राखेका थियौ । त्यो एकमुष्ट तिरेपछि ५ वर्षसम्म रिन्यू नगर्नुपर्ने प्रोसेस थियो । तर, एकैचोटी हजार रुपैयाँ तिनुपर्दा धेरै भयो भन्ने कुरा आयो । जसले गर्दा पार्टीप्रति आस्थावान भएका व्यक्तिहरू पनि सदस्यता कार्ड लिनबाट बन्चित भए’ उनले भने ‘यस्ता व्यक्तिलाई सम्बोधन हुने गरी हामीले ‘घण्टीमित्र’ अभियान सुरु गरेका हौ । जसका लागि वार्षिक १ सय रुपैयाँ तिरे पुग्छ ।’


‘घण्टीमित्र’ अभियानमा जोडिएकाहरुलाई पार्टीको कार्ड दिइने र संकलन भएको रकम प्रदेश खातामा जम्मा गरेर पछि ७० प्रतिशत पालिकामा फिर्ता गरिने जनाइएको छ । ३० प्रतिशत रकम भने प्रदेशमा रहने छ ।

रास्वपाकी प्रदेश कोषाध्यक्ष जसु भट्टले पार्टीप्रति आस्थावान भएर पनि कुनै कार्ड अथवा चिनो नभएको गुनासो गर्ने व्यक्तिलाई ‘घण्टीमित्र’ अभियानले जोड्ने बताइन् । उनले यो अभियानबाट संकलन गरिएको रकम बिभिन्न विपतजन्य प्रकोपमा खर्च गरिने बताइन् ।

रास्वपाका गोदावरी नगर अध्यक्ष दीपक भट्टले पार्टीप्रति आस्थावान भएका व्यक्तिलाई अपनत्वको भावना जागृत गर्न ‘घण्टीमित्र’ अभियान सुरु गरिएको बताए । उनले अभियान वडाबाट सुरु गरेर केन्द्र सम्म पुर्याउने अपेक्षा लिएको बताए ।