महाधिवेशनको मिति तय नगरेको रास्वपा वडा अधिवेशन गर्दै, ७ वडामा नेतृत्व चयन बिहीबार

महाधिवेशनको मिति तय नगरेको रास्वपा वडा अधिवेशन गर्दै, ७ वडामा नेतृत्व चयन बिहीबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन प्रक्रिया मंसिर २८ गते सुरू गर्ने भएको छ। रास्वपाले महाधिवेशनको मिति नतोके पनि वडा तहबाट अधिवेशन गर्न लागेको हो।

मंसिर २८ गते बिहीबार सातै प्रदेशका एक–एक वडामा अधिवेशन हुने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

रास्वपाले २८ गते इटहरी उपमहानगरपालिका–२०, जीतपुर सिमरा उपमहानगरपालिका–२, भरतपुर महानगरपालिका–११, पोखरा महानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, भेरीगंगा नगरपालिका–६, टीकापुर नगरपालिका–१ मा अधिवेशन गर्न लागेको हो।

वडा अधिवेशनका लागि पार्टीले केन्द्रीय प्रतिनिधि तोकेको छ। इटहरी उपमहानगरमा केन्द्रीय सदस्य विजय जैरु, जीतपुर सिमरा उपमहानगरमा सहमहामन्त्री सुमना श्रेष्ठ, भरतपुर महानगरमा महामन्त्री मुकुल ढकाल, पोखरा महानगरमा प्रमुख सचेतक परियार, बुटवल उपमहानगरमा कोषाध्यक्ष लिमा अधिकारी, भेरीगंगामा संगठन विभागका सचिव शंकर श्रेष्ठ र टीकापुरमा सहमहामन्त्री विपिन आचार्य सहभागी हुने रास्वपाले जनाएको छ।

वडा समिति ११ सदस्यीय बनाउने तयारी छ। नेतृत्व खुला मतदानबाट चयन गर्ने भनिएको छ। अरु वडाको अधिवेशनको मिति तय भएको छैन।

२०७९ असार पहिलो साता गठन भएको रास्वपा अहिले तदर्थवादमा चल्दै आएको छ। उसले महाधिवेशनको मिति तोकेको छैन।