कोशी प्रदेशका मुख्यमन्त्री कार्की सवार गाडीमाथि आक्रमण

कोशी प्रदेशका मुख्यमन्त्री कार्की सवार गाडीमाथि आक्रमण

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि झापामा आक्रमण भएको छ। प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत ‘पहिचानवादी’ कार्यकर्ताले मुख्यमन्त्री कार्कीको गाडीमाथि आक्रमण गरेका बताइएको छ। 

झापामा आयोजित एउटा कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री कार्की मंगलबार त्यसतर्फ गएका थिए। कार्यक्रममा सहभागी हुन जाने क्रममा झापाको दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि कार्की सवार गाडीमा ढुंगा प्रहार गरिएको हो। कार्की भने सकुशल छन्।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोज लामाले आक्रमणमा संलग्नहरुको खोजी भइरहेको बताएका छन्। ढुङ्गा प्रहारबाट मुख्यमन्त्री कार्कीको गाडीको सिसा चर्किएको छ। 

सुरुमा कार्की सवार गाडी अगाडि आएर केही युवाले कालो झण्डा देखाएका थिए। त्यसक्रममा गाडीको गति कम भएको र गाडीमाथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ।