सत्यतथ्यको छेउसम्म पनि नभेटिएका दुई घटना

सत्यतथ्यको छेउसम्म पनि नभेटिएका दुई घटना

कैलाली । २०६९ साल मंसिर २५ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ४, उत्तरबेहडीमा युवक ओमप्रकाश पन्त मृत अवस्थामा फेला परे । आफन्तहरूले ओमप्रकाशको हत्या भएको दावी गर्दै आएका छन्, तर घटना भएको ११ वर्ष पुगिसक्दा पनि अझैं दोषि पत्ता लाग्न सकेको छैन । 

२०७० साल मंसिर २५ गते कैलालीको चौकीडाँडाबाट दिउँसै दुई करोड ३० लाख ६० हजार रुपैयाँ लुटियो । घटना भएको १० वर्ष भइसकेको छ, तर घटनाको सत्यतथ्य तथा घटनामा संलग्न अपराधीहरू पत्ता लाग्न सकेको छैन । नबिल बैंकको महेन्द्रनगर शाखाबाट पैसा बोकेर धनगढीतर्फ आइरहेको मे १ च १४६ नम्बरको जीपलाई नियन्त्रणमा लिएर सो रकम लुटिएको थियो ।

रकम लुटिएको घटनाको छानबिनका लागि नेपाल प्रहरीले विभिन्न अनुसन्धान समिति गठन गरेर काम गरे पनि अहिलेसम्म दोषि पत्ता लागेका छैनन् । नबिल बैंकको रकम लुटिएको १० वर्ष वितिसक्दा पनि प्रहरीले लुटेराबारे भेउसम्म पाउन सकेको छैन ।

नबिल बैंकको महेन्द्रनगर शाखाबाट धनगढीस्थित नेपाल राष्ट्र बैंक कार्यालयमा जम्मा गर्नका लागि ल्याएको रकम २०७० मंसिर २५ गते ट्राफिक प्रहरीको पोशाकमा रहेका लुटेरा टोलीले फिल्मी शैलीमा कैलालीको साविकको मालाखेती–३, चौकीडाँडामा जीप नियन्त्रणमा लिएर लुटेको थिए । गाडीमा काठमाडौंबाट केही दिनका लागि आएका अडिटर शुक्रराज भट्टराई, क्यासियर सत्यमान तामाङ, गार्ड गंगादत्त भट्ट र चालक दिलबहादुर चन्द थिए ।

‘अहिलेसम्म घटनासम्बन्धी कुनै क्लू फेला परेको छैन’ सुदूरपश्चिम प्रहरी प्रमुख भरतबहादुर बोहरा धनगढी खबरसंग भने– ‘हामीले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान जारी राखेका छौं ।’

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख भएर आउने हरेक प्रहरी अधिकारीले नबिल बैंक लुट घटनाको सत्यतथ्य छानविन गरी लुटेरालाई कारवाहीको दायरामा प्रतिवद्धता दोहोर्‍याउने गरेका छन् । तर, नविल बैंक लुट घटनाको छेउछाउसम्म पनि अनुसन्धान पुग्न सकेको छैन ।

यो घटनाको छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरोसहित सात वटा अनुसन्धान टोली गठन भइसकेका छन् । घटनाको प्रारम्भिक छानबिनमा शुरुमा घटनामा बैंकका कर्मचारी, प्रहरी र लुटेराबीच मिलेमतो भएको आशंका गरिएको थियो, तर घटनाको वास्तविकता के थियो ? प्रहरी अनुसन्धान असफल भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४, उत्तरबेहडीका ओमप्रकाशको हत्या भएको ११ वर्ष पूरा भएको छ । उनका आफन्तहरूले न्यायका लागि विभिन्न निकाय धाइरहेका छन् । ओमप्रकाशको धनगढी उपमहानगरपालिका वडा नम्बर ५, तारानगरमा २०६९ साल मंसिर २५ गते राति ९ बजेतिर घाटी रेटेर विभत्स ढंगले हत्या गरिएको थियो ।

न्यायको आश नै हराईसक्यो– बुबा पन्त

ओमप्रकाशका बुवा श्रीकृष्ण पन्तले हत्याराको खोजी गरी कानूनी दायरामा ल्याउन विभिन्न निकायमा धाउँदा समेत हत्यारा पत्ता लगाउन कहिकतैबाट चासो नदिएको पटकपटक गुनासो गरेका छन् । उनको आरोप छ– ‘घटनाको समयमा छोरा (ओमप्रकाश) ले प्रहरी कन्ट्रोल रुममा फोन गरेको भए पनि प्रहरीले कुनै वास्ता गरेन ।’

पोष्टमार्टम रिपोर्टमा ओमप्रकाशको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको उल्लेख छ । ‘न्यायको लागि हरसम्भव प्रयास गरे, तर न्याय पाइएन’ श्रीकृष्णले धनगढीखबरसँग भने– ‘अब त न्याय पाइन्छ भन्ने आशा नै हराइसक्यो ।’

उनले हत्यामा संलग्न भनेर आशंका गरिएका व्यक्तिलाई प्रहरीले छानबिनको दायरामा नल्याएको गुनासो गरे । भने– ‘मेरो छोराको हत्यारा खुलेआम हिडिरहेका छन् । प्रहरीलाई घटनाको नयाँ ढंगबाट अनुसन्धान गर्न पटक–पटक आग्रह गरे पनि सुनुवाई भएको छैन ।’