एमाले अछामको अधिवेशन फागुनमा हुने

एमाले अछामको अधिवेशन फागुनमा हुने

अछाम । नेकपा एमाले अछामको जिल्ला अधिवेशन फागुनमा गर्ने तय गरेको छ । जिल्ला कमिटीको साँफेबगरमा सम्पन्न सचिवालय बैठकले फागुन मसान्तभित्र जिल्ला अधिवेशन गर्नेगरी सचिवालयले निर्णय गरेको एमाले अछामका इन्चार्ज लालबहादुर थापाले जानकारी दिए। 

जिल्ला अधिवेशनको मिति भने यसपछि तोकिने र अन्य तयारीका काम गर्ने बताइएको छ । बैठकमा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि सङ्कल्प यात्राको समीक्षा गरिएको एमाले अछामका सदस्य नरेशकुमार शाहीको भनाइ छ । बैठकमा पालिकास्तरको वर्तमान अवस्थाको बारेमा रिपोर्टिङ गरिएको बताइएको छ । 

२०७८ पुसमा एमाले अछामको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको थियो । निर्वाचनबाट चन्द्र बोहरा अध्यक्षसहितको टिम विजयी भएको थियो। नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकले आउँदो जेठ मसान्तभित्र जिल्ला अधिवेशन गरिसक्नुपर्ने निर्णय गरिसकेको छ । 

सचिवालय बैठकमा एमालेका केन्द्रिय सदस्य तथा अछाम इन्चार्ज लालबहादुर थापा, केन्द्रीय सदस्य तथा अछाम निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज यज्ञबहादुर बोगटी, सुदूरपश्चिम प्रदेश कमिटीका निवर्तमान उपाध्यक्षक कमल तिमिल्सेनालगायतको सहभागिता थियो ।