उद्यममा जमेका अपांग युवा

उद्यममा जमेका अपांग युवा

धनगढी  । घोडाघोडी नगरपालिका वडा नम्बर १२, कोटाका प्रदेशु डगौराथारु शारिरिक रुपमा अपांग छन् । तर उनले आफूलाई आफ्नो उमेरका सांग युवाहरु भन्दा सशक्त रुपमा उभ्याउन सफल भएका छन् ।

उनको दुबै खुट्टा चल्दैन । उनले गाउँमै मोबाइल ग्यालरी सञ्चालन गरी महिनाको ५० देखि ६० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । मोबाइल मर्मत तालीम लिई १० वर्षदेखि गाउँकै त्रिवेणी बजारमा मोबाइलका एसोसेरिज सामाग्रीहरु विक्री र मर्मत गर्ने पसल सञ्चालन गरिरहेका छन् । शुरुमा एक लाख रुपैयाँ लगानी गरी पसल शुरु गरेका प्रदेशुको पसलमा अहिले १० लाख रुपैयाँ लगानी पुगेको छ । पसलबाट सबै खर्च कटाएर मासिक १० देखि १५ हजार रुपैयाँ खुद नाफा हुने गरेको उनले बताए ।

घोडाघोडी नगरपालिका वडा नं. १, सुख्खडका छविलाल चौधरी पनि सफल किसान र उद्यमीमा पर्छन् । शारीरिक रुपमा अपांग भएपनि उनले सांग युवा भन्दा उदाहरणीय कार्य गरेर चर्चित बनेका छन् । उनले आफ्नै घरमा कस्मिर बेटबाँस फर्निचर उद्योग र कृषि फर्म चलाएका छन् । उनले बेटबाँस फर्निचर उद्योगमा दुई जनालाई रोजगारी दिएका छन् । फर्निचर उद्योगबाट उनले टेबल, सोफा, मुडा, कुर्सी, ह्यांगर, फूलदानी, स्ट्याण्ड, ¥याक लगायतका सामाग्री उत्पादन गर्ने गरेका छन् भने कृषि फर्मबाट च्याउ उत्पादन गर्ने गरेका छन् । 

४ लाख रुपैयाँ लगानी गरेर सञ्चालन गरेको फर्निचर उद्योगबाट उत्पादित मध्ये दैनिक २ देखि ४ सेट फर्निचर विक्री हुने गरेको छविलालले बताए । उनले कैलालीको सत्ति सामुदायिक वनबाट बेट खरिद गरी फर्निचर बनाउने गरेका छन् । पछिल्लो आर्थिक मन्दीले उद्योगको व्यापार सुस्ताएको छविलालले बताए । उनले कोभिड १९ भन्दा पहिले उद्योगमा चार जनालाई रोजगारी दिएका थिए । विक्री घटेपछि उत्पादन पनि क मगर्न परेर दुई जना मात्रै मिस्त्री राखेको उनले बताए ।

उद्योगबाट उत्पादन भएको सामान विक्री र च्याउ फर्ममा उनले आफैले काम गर्ने गरेका छन् । उनले कृषि फर्मबाट उत्पादन भएको अन्य तरकारी, च्याउ र बदाम खरिद गरी भुटेर आफै विक्री गर्ने गरेका छन् । उनले घुम्ती पसल मार्फत् गाउँ गाउँ गएर सामान विक्री गर्ने गरेको बताए ।

यि युवाहरु अपांग भएपनि स्वरोगार उद्यम गरेको उदाहरण हुन् । यसैगरी, कैयौं युवाहरुले उद्यम गरी आफू स्वरोजगार मात्रै नभई कैयौं युवाहरुलाई रोजगार समेत दिएको राष्ट्रिय अपांग महासंघ नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष मानबहादुर साउँदले बताए । उनले त्यस्ता युवाहरुले गरेको उद्यमबाट उत्पादन सामाग्रीको प्रचारप्रसार तथा बजारीकरण गर्न आवश्यक हुनुका साथै ति युवाहरुले गरेका उद्यमको विषयमा उजागर गरी अन्य युवाहरुलाई पनि उद्यममा लाग्न प्रोत्साहित गर्नुपर्ने बताए ।