अदालतको फैसला लत्याउँदै धनगढीद्धारा व्यक्तिको घर तोडफोड

अदालतको फैसला लत्याउँदै धनगढीद्धारा व्यक्तिको घर तोडफोड

धनगढी । धनगढी उपमहानगरपालिकाले उच्च अदालत दीपायलको फैसलालाई लत्याउँदै व्यक्तिको घरमा डोजर चलाएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित अमित डिष्ट्रिब्यूटर्स रहेको व्यक्तिको घरमा नगर प्रहरीको सहायतामा डोजर चलाएको हो ।

‘म काठमाडौंमा छु । पहिले पनि उपमहानगरपालिकाले मेरो घरमा डोजर चलाउने तयारी गरेको थियो । मैले उच्च अदालतमा मुद्दा दर्ता गराएको थिए’ घरधनी दुस्यान्त बस्नेतले भने –‘साउनमा अदालतले मेरो पक्षमा फैसला गरेको थियो ।’ उच्च अदालत दीपयालद्धारा जारी फैसलामा भनिएको थियो –‘यथास्थितिमा घरमा कुनै पनि क्षति नपुर्याउ ।’

तरं, शनिबार दिउँसो उपमहानगरपालिकाले सडक चौडाइ गर्ने भन्दै सो घरमा डोजर लगाएको छ । कुनै पनि संरचना भत्काउनु अघि उपमहानगरपालिकाले सो बारे सम्बन्धित पक्षलाई जानकारी गराउनुपर्ने हुन्छ । तर, उपमहानगरपालिकाले सूचनानै जारी नगरेको उनको भनाई छ ।

‘मलाई संरचना भत्काउ भनेर पनि भनिएको छैन् । उच्च अदालतको फैसलापछि मैले केही भनेको छैन् । घरमा आफुखुशी डोजर चलाएको छ’ उनले भने ‘सोही मुद्दाका कारण मैले अस्पताल सञ्चालनको अनुमति दिन पनि आनाकानी गरिएको थियो ।’ उपमहानगरपालिकाले डोजर चलाउँदा त्यहाँ पसल सञ्चालन गरिरहेका व्यक्तिहरु समस्या परेका छन् ।

धनगढी उपमहानगरपालिकाले सो घर सडक क्षेत्राधिकारभित्र पर्ने भएकोले भत्काएको जनाएको छ । उपमहानगरपालिकाका नगर प्रहरी भुपेन्द्र खडकाले अहिले अमित डिस्टिब्यूटर्सको घरमा डोजर चलाएको बताए । उनले भने –‘सडक क्षेत्राधिकार खाली गराउन पहिलो दिन सो घरमा डोजर लगाइएको हो । अन्यलाई खाली गर्न भनेका छौं ।’

उपमहानगरपालिका स्रोत अनुसार उपमहानगरपालिकाले त्यस क्षेत्रमा रहेका अन्य घरलाई २४ घण्टे सूचना जारी गर्ने तयारी गरेको छ ।