‘विपिनको बाटो हेर्दाहेर्दै थाकिसक्यौं’

‘विपिनको बाटो हेर्दाहेर्दै थाकिसक्यौं’

कञ्चनपुर  । मंसिर ७ मा इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासले अस्थायी युद्धविराम गर्दा भीमदत्त नगरपालिका–३ का महानन्द जोशी खुसी थिए । हमास समूहको नियन्त्रणमा रहेका छोरा विपिन जोशी रिहा हुनेमा उनी निकै आशावादी थिए ।

युद्धविराम भएकै दिनदेखि हमासले बन्धक बनाएकाहरूलाई छोड्न सुरु गरेपछि उनको आशा झन् बढ्दै गयो । बन्धक बनाइएका विपिन पनि मुक्त हुन्छन् र पारिवारिक मिलन होला भनेर बाटो हेर्दै बसेका थिए ।

छोरा रिहा नहुँदै अस्थायी युद्धविराम भंग भएपछि भने महानन्द पुनः चिन्तामा डुबेका छन् । शुक्रबारदेखि हमास र इजरायलबीच पुनः युद्ध सुरु भएको छ । ‘विपिन पनि मुक्त हुन्छन् भन्ने आशा थियो, अब के पो हुने हो,’ हतास बनेका महानन्दले भने, ‘हामी बाटो हेर्दाहेर्दा थाकिसक्यौं, अब के गर्ने होला ? सरकारले पनि छुटाउने गरी पहल गर्न सकेन ।’

युद्धविरामकै अवधिमा जोशी परिवारले परराष्ट्रमन्त्री एनपी साउदलाई समेत भेटेका थिए । यसैसाता गृहजिल्ला आएका मन्त्री साउदसँगको भेटमा महानन्दले विपिनलाई सकुशल छिटोभन्दा छिटो ल्याइदिन आग्रह गरेका थिए । ‘हामी पहल गरिरहेका छौं, इजरायलका विदेशमन्त्रीसँग पनि कुरा भइरहेको छ भन्नुहुन्थ्यो,’ उनले भने, ‘आक्रमणको घटना भएकै दिनदेखि यही कुरा सुन्दै आएका छौं ।’ उनले पहल मात्रै नभई छोरालाई सम्पर्कमा ल्याइदिन आग्रह गरेका छन् ।

चारदिने युद्धविराम थपिँदै गएपछि छोरा छुट्ने आशा गरेका उनी यतिबेला फेरि निराश भएका हुन् । विभिन्न देशले कूटनीतिक पहलबाट आफ्ना नागरिक छुटाएको भन्दै उनले नेपालले पनि त्यही अनुसारको पहल गर्न नसकेको गुनासो गरे । गत असोज २० मा विपिनलाई हमासले नियन्त्रणमा लिई बन्धक बनाएको थियो । लामो समयसम्म उनको बारेमा कुनै जानकारी नआउँदा परिवार निकै चिन्तित छ ।

पछिल्लो समय इजरायल सरकारले नै विपिन हमासको नियन्त्रणमा रहेको सार्वजनिक गरेपछि जोशी परिवारले केही राहत महसुस गरेका हुन् । ‘छोरा कुन अवस्थामा छ, सकुशल छ कि चोटपटक लागेको छ कि, यस्तै कुराले सताइरहन्छ,’ महानन्दले भने । बझाङमा शिक्षण पेसामा संलग्न महानन्द छोराकै चिन्ताले विद्यालय जान सकेका छैनन् । कञ्चनपुरमै शिक्षण पेसामा रहेकी उनकी श्रीमती पद्मा भने जेनतेन विद्यालय गइरहेकी छन् ।

इजरायल र हमास समूहबीच भएको एक साताको युद्धविरामका बेला एक सयभन्दा बढी बन्धक छुटिसकेका छन् । अझै त्यति नै संख्यामा बन्धकहरू हमासको नियन्त्रणमा छन् । सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका ४९ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत साउन अन्तिम साता इजरायल गएका थिए । कृषि फार्ममा काम गरिरहेका बेला हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने विपिनलाई त्यहींबाट हमासले नियन्त्रणमा लिई बन्धक बनाएको हो ।

कान्तिपुरबाट