जिल्ला समन्वय समिति कैलालीको आठौं जिल्ला सभा सुरु

जिल्ला समन्वय समिति कैलालीको आठौं जिल्ला सभा सुरु

धनगढी । जिल्ला समवन्य समिति कैलालीको आठौं जिल्ला सभा चुरे गाउँपालिकामा शुरु भएको छ ।

चुरे गाउँपालिकाको सभाहलमा शुरु भएको सभाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समुद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री शाहले जिल्ला समन्वय समितिले स्थानिय सरकार र प्रदेश सरकारका बिच  पुलको काम गरिरहेको बताए । उनले भने –‘स्थानीय तहसंग सहकार्य, समन्वय र सहयोग गर्नुका साथै स्थानीय तहको वेथितिलाई नियमन गर्न समन्वय समितिको भुमिका रहेको छ ।’

उनले बिकास निर्माणदेखि दुईतहका सरकार बिच समन्वयमा राम्रो भुमिका निर्बाह गर्दै आएको र आगामी दिनमा पनि यसरीनै अघि बढ्न सुझाव दिए ।

मुख्यमन्त्री शाहले सुदुरपश्चिम सरकार प्रदेशको समग्र बिकासका लागि २०८० फागुन २३ र २४ गते लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेकोले सोही अनुसार तयारी आगाडी बढी रहेको जानकारी गराए ।

उनले भने –‘प्रदेश सरकारले गरिरहेको सम्मेलनलाई सफल पार्न सबै स्थानिय तहको सहयोग आवश्यक रहेको छ ।’
प्रकृतिक रुपले सुन्दर रहेको चुरे क्षेत्रलाई  कृषि, पर्यटन संग जोडनका लागि चुरे सडक मार्ग निर्माणमा आफुले पहल कदमि गरिरहेको उनको भनाई थियो ।

कैलाली जिल्ला समवन्य समितिले आयोजना गरेको जिल्ला सभामा कैलाली जिल्लाका स्थानिय तहका नगर प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको सहभागिता रहेको थियो ।

जिल्ला सभाले स्थानीय तहमा भएका समस्या, चुनौति, राम्रा उपलब्धी लगायतबारे छलफल गरि निर्णय जारी गर्ने जिल्ला समन्वय समितिका सूचना अधिकारी विमलप्रकाश जोशीले बताए ।