संकटमा दमाहा बाजा

संकटमा दमाहा बाजा

शेरबहादुर सार्की/ बाजुरा । मङ्सिर महिना सुरु हुने बित्तिकै बाजुराको जताततै गाउँगाउँमा गुञ्जिने दमाहा बाजा लोप हुँदै आएको छ । पहिला एक गाउँबाट अर्को गाउँमा जाने जन्तीलाई सज्जाएर बाटो सेताम्य हुने गरी जामा लगाएर बजाउँने दमाहा बाजालाई पछिल्लो पुस्ताले खासै चासो नदेखाएपछि लोप हुँदै गएको हो ।

विवाहको समयमा बज्ने दमाहा बाजाले मङ्सिर, माघ र वैशाख महिना निकै रौनकता छाएको हुन्थ्यो । केही वर्ष यता गाउँमा विवाहको बेला सजाएर बजाइने त्यो दमाहा बाजा अहिले बज्नै छोडेको बाजुराका स्थानीय बताउँछन् ।

मङ्सिर, माघ, नयाँ वर्ष वैशाख र जेठमा विवाहको बेलामा गुञ्जिने दमाहा बाजा पछिल्लो समय बिस्तारै लोप हुँदै आएको त्रिवेणी ज्येष्ठ नागरिक प्रेम बुढाले बताए।

उहाँले भन्नुभयो,‘‘विवाहमा जाने जन्ती डोर्‍याएर लिने त्यो दमाहा बाजाले एक गाउँको कला संस्कृति अर्को गाउँलाई देखाउने र त्यसको सिकाइ अन्य गाउँमा पुग्दा दमाहा बाजाको जगेर्ना हुने गरेको थियो । अहिले गाउँमा हुने गरेका विवाह भोज भुवा भैलो लगायतका चार्ड पर्वमा डिजे बज्न थालेपछि पहिला गाउँमा गुञ्जिदै आएको दमाहा बाजा बिस्तारै लोप हुँदै आएको बुढाले बताए ।

पहिला गाउँ गाउँमा ठुलो जन्त भएपछि दमाइले जामा पहिरेर दमाहा बजाउने गर्दा जन्ती जान निकै रमाइलो हुने गरेको उनको भनाइ छ ।

अहिले त्यो चलन सबै बिस्तारै लोप हुँदै आएकोले बाजुराको कला संस्कृतिसमेत हराएको महसुस हुन थालेको बूढीगङ्गा नगरपालिका–१० तिमाडाका स्थानीय रिने नेपालीले बताए ।

सेतो कपडाको बनाएको त्यो पोसाक भारतमा मात्र पाउने गर्थ्यो । त्यो पोसाक पहिलेका पुस्ताले घरमा राम्रोसँग सजाएर राख्ने गर्थे । अहिलेको नयाँ पुस्तालाई यसको औचित्य नै थाहा नुहुँदा जामाको पहिचान हराएको नेपालीले बताए ।

पहिला विवाह हुँदा एक गाउँबाट अर्को गाउँसम्म हिँडेर जन्ती जानु पर्दथ्यो । अहिले सडक यातायातको सुविधा भएपछि त्यो चलन पनि बिस्तारै लोप हुँदै गएको छ ।

जामा पहिरी दमाहा बजाएर गएको जन्तले कला संस्कृतिको उपमा दिने गर्दथ्यो, अहिले त्यो लोप हुन थालेपछि सांस्कृतिक नै लोप हुन थालेको नेपालीको भनाइ छ ।

पहिलाका पुस्ताले जन्तमा बाजा बजाए बापत दुईदेखि चार हजार रुपियाँ लिने गर्थे भने अहिलेको नयाँ पुस्ताले तीसदेखि चालिस हजारसमेत लिने गरेको नेपालीले बताए । पहिलेका पुस्ताले विवाह, भुवापर्व चलनमा ल्याएको यो दमाहा र जामा बाजुरामा अहिले बिस्तारै लोप हुँदै गएको छ । 

बाजा बजाएर विवाह गर्दा अहिले दुई चार लाख रुपियाँ खर्च हुन्छ । त्यसैले अहिले गाउँमा सामान्य मानिसले बाजा बजाउन नसक्ने उहाँको अनुभव छ ।

बाजुराबाट छिमेकी जिल्ला अछामको बाब्ला, ठाँटी, साँफे, खप्तड, दर्नालगायत विभिन्न गाउँमा जामा लगाएर बाजा बजाउँदै जन्त जाने गर्थे । अहिले सडकको सुविधा भएसँगै गाडीमा आउने गर्दछन् । फरक यति मात्र हो कि पहिला जन्त जाँदा जामा लगाएर बाजा बजाएर डोली सिँगारिन्थ्यो भने अहिले बस, जिप सिँगार्ने गरेको स्थानीय बताउँछन् ।

खप्तड छेडेदह–१ ज्येष्ठ नागरिक पद्मा दमाइले, पहिला बुहारी माग्न जाँदा ठुलो जन्त ल्याउने भए मात्र छोरी दिन्छु नत्र छोरी दिन्न भनेपछि गाउँमा दमाहा बाजाको प्रयोग हुने गरेको बताए  ।

बाजुरामा बाजा लोप भएको झण्डै पन्ध्र वर्ष भयो । अहिले पनि गाडीको सुविधा नभएका गाउँ बस्तीमा फाटफुट बाजा बजाएर जन्त जाने चलन छ । बाजुरामा २०५८ सालदेखि प्राय दमाहा बाजा बजाउने चलन कम हुँदै आएको छ।