‘परदेशी २’ आजदेखि कतार र इराकमा

‘परदेशी २’ आजदेखि कतार र इराकमा

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘परदेशी २’ बिहीबारदेखि मध्यपूर्वका कतार र इराकमा रिलिज भएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले ती मुलुकमा प्रदर्शनमा ल्याएको हो ।

यसअघि यो फिल्म यूएई, ओमान र बहरानमा प्रदर्शन भइसकेको छ । सेभेन सिजका मध्यपूर्व वितरक रमेश ढकालका अनुसार इराकमा दुई र कतारका सात हलमा फिल्म रिलिज भएको हो ।

‘यसअघि मध्यपूर्वका केही मुलुकमा राम्रै चलिरहेको फिल्मलाई इराक र कतारमा लगाएका छौं,’ ढकालले अनलाइनखबरसँग भने । नेपाली फिल्मका लागि इराक नयाँ बजार हो । यसअघि त्यहाँ छक्कापञ्जा ४, पशुपतिप्रसाद २ र जारी रिलिज भएका छन् ।

दशैं छेकोमा नेपालमा रिलिज भएको नारायण रायमाझी निर्देशित फिल्मले घरमा राम्रै कमाइ गरेको थियो । यो फिल्मले वैदेशिक रोजगारको सामाजिक प्रभावको कथा पेश गर्छ ।