एमाले संकल्प पदयात्राः शुरु नहुँदै विवादमा, झुलाघाटमा तामझाम, अछाममा उकुसमुकुस

एमाले संकल्प पदयात्राः शुरु नहुँदै विवादमा, झुलाघाटमा तामझाम, अछाममा उकुसमुकुस

धनगढी । नेकपा एमालेले भोलीदेखि बैतडीको झुुलाघाटबाट ‘समृद्धिका लागि संकल्प यात्रा’ सुरु गर्दैछ । बैतडीमा तामझामका साथ तयारी भइरहेकोमा अछाममा अन्यौलता छाएको छ ।

यात्राको समुदघाट्नदेखि समापनसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थििितमा विभिन्न स्थानमा सभा, भेला, संवाद, भेटघाट लगायतका कार्यक्रम तय भएका छन् । सोही अनुसार आज विहानै अध्यक्ष ओलीसहितको टोली बैतडी प्रस्थान गरेको छ । 

विहान ९ बजे धनगढीबाट हिडेका ओलीले डडेल्धुराको साहुँखर्कमा ‘बाजेको खिर घर’मा खिर खाएको तस्बिर सार्वजनिक भएको छ ।

बैतडीमा तामझाम भइरहदा नेकपा एमालेका नेता भीम रावलको गृह जिल्ला अछाममा रावल समर्थक कार्यकर्ताहरुले भने आफूहरुलाई उकुसमुकुस भइरहेको बताएका छन् । संकल्प यात्राका क्रममा नेताहरुको टोली शनिबार अछाम पुुग्ने तालिका छ । नेता रावललाई आफ्नै प्रदेशमा नेतृत्वले बारम्बार पन्छाउँदै आएको भन्दै उनी समर्थक कार्यक्रमहरु लामो समयदेखि आक्रोसित छन् । 

नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले संकल्प यात्राका लागि रावललाई जानकारी गराएको भएपनि कुनै प्रतिक्रिया नआएको बताए । उनले भने –‘उहाँ बैतडीदेखिनै सहभागि हुन्छन् वा आफनो गृह जिल्ला भन्ने केही थाहा छैन्  । तर, कार्यक्रमबारे जानकारी गराएका छौं ।’

अध्यक्ष ओलीले बैतडीमा नेपाल भारतको सीमाना झुलाघाटमा बिहीबार एक कार्यक्रमसहित उद्घाटन गरेर पूर्वको चिवाभञ्ज्याङसम्मको एक हजार ८७९ किलोमिटर लामो १९ दिने मध्य पहाडी लोकमार्ग पदयात्रा सुरु गर्दैछन् । उक्त पदयात्रा शुक्रबार डोटी र शनिबार अछाम पुुग्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । 

एमाले सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष कृष्णप्रसाद जैशीका अनुसार पार्टीका शीर्ष नेता सबैको सहभागी रहने उक्त संकल्प यात्राका क्रममा शनिबार अछामको साँफेबगर र मंगलसेन पुुगेर कार्यक्रम गर्ने कार्यतालिका छ । 

तर भीम रावल उक्त कार्यक्रममा नहुने अवस्था आएपछि रावलका समर्थक कार्यक्रमहरुले अछामका कार्यक्रममा विरोधका कार्यक्रम गर्नेसम्मको तयारी गरिरहेका छन् । ‘यो त हद भयो, आफ्नै प्रदेशको कार्यक्रममा पनि भीम रावलले सहभागी हुन नपाउने अवस्था बारम्बार दोहोरिन थाल्यो,’ एमालेका अछामस्थित एक कार्यकर्ताले भने ‘अब के गर्ने भन्ने आन्तरिक छलफल गरिरहेका छौं । सबै कार्यकर्ता आक्रोसित छन्, विरोधका क्रियाकलाप पनि हुन सक्छन् ।’ हालै सम्पन्न प्रदेश अधिवेशनमा पनि भीम रावललाई नबोलाइएको भन्दै उद्घाटन सत्रमा अध्यक्षले ओलीले बोलिरहदा रावल समर्थक कार्यकर्ताहरुले ‘भीम रावल खै’ भन्दै नारा लगाएका थिए ।

बैतडीको झुलाघाटदेखि अछाम कर्णालीको बेलखेतसम्मको ३५८ किलोमिटर मध्य पहाडी लोकमार्गको खण्डसम्म एमालेको सुदूरपश्चिमस्थित प्रदेश र जिल्ला कमिटिहरुले ब्यवस्थापन गर्नेछन् । सम्बन्धित प्रदेशमा जिल्ला, प्रदेश र केन्द्रिय तहका सबै पदाधिकारी सहभागी हुने एमालेले जनाएको छ ।   

नेता रावलले प्रदेश अध्यक्ष जैशीले संकल्प यात्राका लागि कुनै जानकारी नगराएको प्रतिक्रिया दिएका छन् । नेता रावलले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘फोन गरेका भएपनि महासचिव शंकर पोखरेलले भने ‘इच्छा भएजतिले आए हुन्छ’ भन्ने टिप्पणी गरेकोले सहभागी हुन सक्दैन् ।’ पूर्व उपाध्यक्ष रावल हाल नेकपा एमालेका साधारण सदस्य मात्र हुन् ।