बालविवाहले निम्त्याउँदै छ स्वास्थ्य समस्यादेखि सम्बन्धविच्छेद

बालविवाहले निम्त्याउँदै छ स्वास्थ्य समस्यादेखि सम्बन्धविच्छेद

धनगढी । बर्दियाको भुुरी गाउँ घर भएकी एक महिलाले १६ वर्षको उमेरदेखि धनगढीमा काम गर्न थालिन् । सोही क्रममा उनले १८ वर्षको उमेरमा विवाह गरिन् । वैवाहिक जीवनको सुरुवातमा दैनिकी राम्रो भए पनि अहिले उनी सम्बन्धविच्छेद गरी एकल जीवन बिताइरहेका छन् । अहिले २३ वर्ष पुगेकी उनका दुुई सन्तान छन् ।

अहिले आर्थिक तथा सामाजिक समस्या झेल्नुु परिरहेको उनी सुनाउँछिन् । बालविवाह गरेका उनका श्रीमानले घर खर्च चलाउन बसमा काम गरिरहेका छन् । उनका श्रीमानले सन्तानको जिम्मेवारी बढेपछि घरमा सधैँ जसो किचलो बढे हुँदा सम्बन्धविच्छेद गरेर एकल जीवन बहन गरेको बताउँछिन् ।

उनी भन्छिन्, ‘धनगढीमा भाडाको घरमा बस्दै थियौँ । श्रीमान कोठामा आउन छोडे कहिले काहिँ आउने भएपछि दुबैबीच विवाद हुन थाल्यो । कुटपिट पनि गर्न थाले । अहिले सम्बन्धविच्छेद गरेर एकल जीवन बिताइरहेको छु ।’ 

यसरी सानैमा विवाह गर्ने उनी मात्रै होइनन् । बझाङबाट धनगढी पढ्न आएकी अर्की युवती उच्त शिक्षा लिने क्रममै धनगढीकै एक केटासँग परिचित भइन् र परिचय मायामा परिणत भयो । यसैक्रममा गर्भवती भएपछि १७ वर्षककै उमेरमा विवाह गरिन् ।

बालविवाह गरेका कारण उनको र बच्चाको पनि स्वास्थ्य अवस्था राम्रो छैन । जन्मिदा बच्चाको तौल एक केजी तीन सय ग्राम मात्रै थियो । अहिले भने क्रमिक रुपमा उनको स्वास्थ्य सुधार भएको छ ।  

तर, बिकास भने खुसी छैनन् । उनलाई घरमा श्रीमती लिएर आएपछि उनीहरूको जीविकोपार्जन समस्या भएको छ ।

कुनै काम गराँै भने शिप छैन नगरौँ भने उनीहरूलाई घरका मान्छेले कहिलेसम्म पाल्छन् भन्ने चिन्ता छ । उनी घरका कान्छा हुन् । दाइहरूले आफ्ना बाल बच्चा हेर्छन् । विकासको पढाइ छुट्नुका साथै दुुबैको जिम्मेवारी काँधमा परेको छ ।

बाजुराकी अर्की युवती पारिवरि कामको शिलशिलामा बाजुराबाट धनगढी पुगिन् । कमाउन धनगढी पुगेकी उनले धनगढीमै बस्ने जनकसँग १८ वर्षकै उमेरमा उनले विवाह गरिन् । श्रीमानसँग उनको राम्रै सम्वन्ध भए पनि उनको पाठेघरमा समस्या आएको छ ।

बालविवाहका कारण अहिले युवा तथा युवतीहरूले आर्थिक, सामाजिक, शारीरिक तथा मानसिक रुपमा समस्या झेल्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

आफैँ बिवाह गर्नेको संख्या बढ्दो

सुदूरपश्चिम प्रदेश किशोरी सञ्जालका संयोजक लक्ष्मी जोशीले अझै पनि सानै उमेरमा विवाह गर्नेको संख्यामा कमी नआएको बताउँछिन् । जसले गर्दा किशोरीले मानसिक तथा स्वास्थ्यमा समस्यादेखि लिएर पारिवारिक र सामाजिक समस्यासमेत भोग्नु परिरहेको उनको भनाइ छ ।

‘पछिल्लो समय आफैँ विवाह गर्ने किशोर, किशोरीको संंख्या बढ्दै गएको छ’, उनले भनिन्, ‘बढ्दो सामाजिक सञ्जालको गलत प्रयोगले यस्तो समस्या देखिने गरेको छ ।’ केही समय यता घरबाट भन्दा पनि आफैँ उमेर नपुुगेर विवाह गर्नेको संख्या बढ्दो रहेको उनको भनाइ छ ।

बास नेपाल केन्द्रीय कार्यलयमा कार्यरत हरि जोशी जनचेतनाको अभाव र पारिवारिक साथ नपाउँदा बालविवाह गर्ने गरेको पाइएको बताए ।

उनले अन्य प्रदेशको भन्दा कर्णाली र सुदूरपश्चिममा बाल विवाह दरलाई कम गर्न नसकिएको बताए । समाजमा बालविवाह भइरहे पनि प्रहरीमा उजुरी दिनेको संख्या न्यून रहेको छ । सरकारले २० वर्ष पारी नै विवाह गर्ने कानुन बनाए पनि त्यसको कार्यान्वय भएको छैन । कम उमेरमा बिवाह गर्दा बहुुबिवाह, सम्वन्ध बिच्छेद, हत्या हिंसा, आत्महत्या लगायतका घटना हुने गरेको उनको भनाइ छ ।

राष्ट्रसंघीय यूएनएफपिएको तथ्याङ्क अनुसार नेपालमा १८ वर्ष अगाडि नै विवाह हुने दर ३२.८ प्रतिशत रहेको छ । यो दर कर्णाली ४४ प्रतिशत र सुदूरपश्चिम ३५.६ प्रतिशत रहेको छ ।  नेपालमा वार्षिक रुपमा १३ हजारभन्दा बढी बालबालिका बाल विवाहको गर्ने गरेको तथ्यांक रहेको छ । सो तथ्यांकअनुसार ग्रामिण क्षेत्रमा बस्ने ४३ प्रतिशत र शहरमा बस्ने २७ प्रतिशत महिला १८ वर्ष नपुुग्दै बच्चा जन्माउने गरेका छन् । 

सोही तथ्याङक अनुसार बिश्वका ८२ देशमा गरिएको अध्ययन अनुसार बालबाविाह गर्नेमा नेपाल १० औँ स्थानमा रहेको छ । ५५.९ प्रतिशत पुरुष बालविवाह र ६३ प्रतिशत महिला बालविवाह गराउनुमा अभिभावकको भूमिका बढी देखिन्छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार २० वर्ष उमेर नपुगी कसैले विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुन्छ । साथै कसुर गर्ने जो कोही व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवाना तथा दुबै हुने कानुनी व्यवस्था छ । बाल बिवाह भएको थाहा पाएको मितिले ३ महिनासम्म बाल विवाहको उजुरी दिन सक्ने उल्लेख छ ।

सुदूरपश्चिम प्रदेश सरकारले के गरिरहेको छ ?

बाल विवाह न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेश सरकारले नीति, कार्यक्रम तथा बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले ‘सानै छु बढ्न देउ, बाल बिवाह होइन पढ्न देउ’ भन्ने नीति तथा कार्यक्रममै उललेख गरेको छ । सोही अनुसार आर्थिक वर्ष २०७८/७९ मा दार्चुलाबाट यस अभियानको सुरुवात गरिएको थियो । गत वर्ष प्रदेश सरकारले थप दुई जिल्ला अछाम र बाजुरामा सोही अभियान अघि बढाएको थियो । यस वर्ष प्रदेशका नौवटै जिल्लामा सञ्चालन गर्ने प्रदेश सरकारको तयारी छ ।

असल अभिभावकत्व कार्यक्रम, स्थानीय तहमा बालअधिकार समितिहरू गठन गर्ने सहजीकरण गर्ने, स्थानीय तहसँग मिरेर कार्ययोजना बनाउने लगायतका कार्यक्रम सञ्चालन तथा नीतिगत रुपमा प्रदेशमा बालविवाह न्यूनीकरणका लागि रणनीतिक रुपमा कार्ययोजना मस्यौदा तर्जुमा गरेको भए पनि पारित भएको छैन ।

सामाजिक बिकास मन्त्रालयका महिला विकास अधिकृत जयन्ती गिरीले विभिन्न अस्पतालमा आउने गर्भवती तथा सुत्केरीहरू २० वर्ष नपुुगेकै धेरै आउने गरेको बताउँछिन् । उनले यकिन तथ्याङ्क नभए पनि समग्रमा यसको न्यूनीकरण नभएको बताइन् । गत आर्थिक वर्षमा बालविवाहको जम्मा ४ ओटा मात्रै मुद्दा दर्ता भएको उनले बताइन् ।

केही समय अघिसम्म घरकाले जबरजस्ती गरेर बिवाह गर्ने दर बढ्दो थियो भने अव उनीहरू आफैँले बिवाह गरेको देख्न सकिने उनले बताइन् । यसलाई रोक्न स्वयंम घर परिवारले पनि आफ्ना बालबालिकाको ध्यान दिनुपर्ने उनको भनाइ रहेको छ ।