बझाङमा ९१ किलोबढी गाँजासहित तीन जना पक्राउ

बझाङमा ९१ किलोबढी गाँजासहित तीन जना पक्राउ

बझाङ । बझाङमा प्रहरीले ९१ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। आइतबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्ने क्रममा लागु औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा खप्तड छान्ना गाउँपालिका–७ गोरखाली बस्ने ६४ वर्षीय खडक खड्का, गोर्खा जिल्ला अजिर कोट गाउँपालिका–२ खरिकोट बस्ने ३८ वर्षीय सन्तोष गुरुङ र पर्सा जिल्ला सुकौली पटेर्वा गाउँपालिका–९ लक्ष्मीपुर बस्ने ५५ वर्षीय रामबहादुर गुरुङ छन्।

उनीहरूको साथबाट गाँजाको दाना र धुलो गरी ९१ किलो ५ सय १५ ग्राम र गाँजा बनाउन प्रयोग गरिने सामानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले बताए।

नियन्त्रणमा लिएका तीनै जनालाई जिल्ला अदालत बझाङले १५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखी अनुसन्धान भइरहेको समेत डिएसपी शाहले बताए।