धनगढीबाट अनलाइन ठगी गर्ने गिरोह सार्वजनिक

धनगढीबाट अनलाइन ठगी गर्ने गिरोह सार्वजनिक

धनगढी । धनगढीबाट अनलाइन ठगी गर्ने गिरोहलाई प्रहरीले आज सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकनजिक धनगढीमा कार्यालयनै खोलेर बैंक एकाउन्ट ह्याक गर्ने नौ जनालाई सुदूरपश्चिम प्रदेश प्रहरीले सार्वजनिक गरेको हो । 

कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनारले अवैध रूपमा सञ्चालन गरेको आईटी सेन्टरबाट सुनारसहित नौ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए । 

पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–१० का २१ वर्षीय प्रशान्त बलायर, भारतको दिल्ली पालङ्गाका ३२ वर्षीय अमित कुमार , भारतको उत्तमनगर दिल्लीका २६ वर्षीय कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने २४ वर्षीय निखिल कुमार र दिल्लीकै १९ वर्षीय प्रियंसु टापु रहेका छन् ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का २९ वर्षीय मिनबहादुर सुनार, बेलडाडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनार, २८ वर्षका कमल सुनार र २२ वर्षीय जयराम सुनारलाई पनि पक्राउ गरि सार्वजनिक गरिएको हो ।
पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले विभिन्न कम्पनीको ११ वटा ल्यापटप, आठ थान मोबाइल, वर्ल्ड लिङ्कको एक थान राउटर, १२ थान हेडफोन र एक थान किबोर्ड बरामद गरेको छ । 

यसैगरी, ठगीधन्दाको टिम म्यानेजर विशाल सुनारको कञ्चनपुर बेलडाँडीस्थित घरबाट प्रहरीले भारु २९ लाख ३२ हजार तीन सय (नेपाली ४६ लाख ९१ हजार ६८० रुपियाँ ) बरामद गरेको छ ।

 अनलाइनबाट ठगी गर्नेहरूलाई धनगढीमा पक्राउ गरिसकेपछि प्रहरीले विशालको घरमा छापा मारेको थियो ।
गिरोहले धनगढी तारानगर ५ शिवदत्त पाण्डेयको पक्की घरको दोस्रो तलामा आइटी सेक्टर नै सञ्चालन गरेर ठगीधन्दा चलाएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनगढी, प्रदेश प्रहरी कार्यालयको आरआइटी टोली र प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक बोहराले बताए ।
भारतको दिल्ली बस्ने सूर्य सरदारले दिल्लीमा बसेर नेपालबाट ठगीधन्दा सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

पक्राउ परेका नौ जना व्यक्ति कर्मचारी हुन् । मुख्य योजनाकार सरदारले नै विशाललाई मासिक ५० हजार र अन्यलाई मासिक १२ हजारदेखि २० हजार रुपियाँसम्म तलब दिनेगरी ठगीधन्दामा सञ्चालन गरेको बोहराले बताए ।

कोठाभाडा खर्चदेखि लिएर कर्मचारी तलब पनि सरदारले नै ब्यहोर्ने गरेको जनाइएको छ । अनलाइन ठगी कार्यका लागि सरदारले नै कर्मचारीलाई भिडियो कन्फ्रेन्समार्फत तालिम र आवश्यक स्क्रिप्टसमेत दिनेगरेको अनुसन्धानबाट खुलेको छ ।  उनीहरू विगत चार महिनादेखि धनगढीमा घर भाडामा लिएर ठगीधन्दा चलाएको डिआइजी बोहराले बताए । 

उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ, बीमा दुर्घटनालगायत विषयमा प्रलोभनमा पारी पोल्याण्ड लगायतका नागरिकलाई अनलाइनमार्फत ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिमाथि ठगी र संगठित अपराध मुद्दा चलाउने प्रहरीले जनाएको छ । 

No description available.