गहनाका लागि नारुदेवीको हत्या, हत्या आरोपीसहित ६ जना पक्राउ

गहनाका लागि नारुदेवीको हत्या, हत्या आरोपीसहित ६ जना पक्राउ

धनगढी ।  सुनको गहनाका लागि कञ्चनपुरमा एक महिलाको हत्या गरेको खुलेको छ। गत कार्तिक १९ गते शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरकी ६५ वर्षीया नारुदेवी जोशीको हत्या भएको थियो। शुक्लाफाँटा–७ कै महेश डगौराले नारुदेवीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

घर नजिकै रहेको जंगलमा घाँस काट्न गएकी नारुदेवीको उनले हत्या गरेको प्रहरीको भनाई छ ।  

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले महेश डगौराले नै नारुदेवीको हत्या गरेको स्वीकार गरेको बताए । नारुदेवीको हत्या गरेकै दिन डगौराले २५० रुपैयाँका लागि एक भारतीय नागरिकलाई समेत लुटपाट गरेका थिए । त्यसअघि १४ कार्तिकमा उनले झलारीका महेश भट्टको साइकल चोरेका प्रहरीले जनाएको छ।

डगौराले घाँस काट्न सघाइदिने भन्दै एक्लै जंगल गएकी नारुदेवीको पिछा गरेका थिए। नारुदेवीले लगाएका गहना सक्कली वा नक्कली हो भन्ने सोधपुछपछि एकिन गरेर घाँटी च्यापेर हत्या गरेको उनले स्वीकार गरेको एसपी थापाले बताए । हत्यापछि १ दशमलव ५० आनाको फुली, १ दशमलव ६९ आनाको मुन्द्रा र २ दशमलव ७ सय आनाको अर्को मुन्द्रा लुटपाट भएको थियो।

हत्यापछि लुटपाट गरेको सुन बिक्रीका लागि महेश धनगढी आएको प्रहरीले जनाएको छ । 
हत्या गरेकै दिन महेशले धनगढीको बोराडाँडी भाटभटेनी नजिक एलएक्स क्लबका सञ्चालक कैलाली गाउँका लक्ष्मण चौधरीको डेरामा गएर सुन बिक्रीका लागि छलफल थिए ।  

२० कार्तिकमै धनगढीदेखि नेपालगन्ज हुँदै उनी मुम्बई ब्याङलोर भागेका थिए । प्रहरीले विभिन्न व्यक्तिसँग समन्वय गरेर भारतमा भागेका महेशलाई बोलाएर मंसिर १ गते पक्राउ गरेको हो ।
सुन बेचबिखनमा संलग्न भएका लक्ष्मण चौधरीसँग सोधपुछ गर्दा धनगढीमा रहेको इन्द्र बराल सुनारले सञ्चालन गरेको न्यु बर्दादेवी सुनचाँदी पसल, खगेन्द्रबहादुर सोबले सञ्चालन गरेको दिया सुनचाँदी पसल र दीपेन्द्र सिजापतिले सञ्चालन गरेको सुजल सुनचाँदी पसलमा बिक्री गरेको खुलेको छ।

सुन बिक्रीका लागि डगौराले सहकर्मी लक्ष्मण चौधरी र नीरज भट्टलाई पठाएका थिए । चौधरीले नीरज भट्टलाई सुन बिक्रीका लागि तीनै पसलमा लगेका थिए । 

तीनै पसलमा गरी ४६ हजारको सुन बेचेको प्रहरी अनुसन्धानले देखाएको छ । नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुन बेच्न जाने लक्ष्मण चौधरी, नीरज भट्ट र सुन किन्ने इन्द्रबहादुर बराल, खगेन्द्र सोब र दीपेन्द्र सिजापतिलाई बिहीबार कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ । 

लक्ष्मण चौधरी र नीरज भट्टले आफूहरूसँग श्रीमती बिरामी भएकाले इमर्जेन्सीमा सुन बेच्न आग्रह गरेपछि किनिदिएको सुनचाँदी पसलधनीहरुले बताएका छन्। 

महेश डगौराका नाममा कर्तव्य ज्यान र लुटपाट, अन्य मतियार र सुन पसलधनीहरु विरुद्धमा गैर कानुनी सुन खरिद बिक्रीको मुद्दा लगाउने तयारी गरेको छ ।