शिक्षणसँगै आलु खेतीमा रमाएका प्रकाश सर

शिक्षणसँगै आलु खेतीमा रमाएका प्रकाश सर

डडेल्धुरा : देशमा रोजगारी पाइएन भनेर आजभोलि धेरै युवा विदेशतिर उड्छन्। स्वदेशको जल, जमिन छोडेर गाउँगाउँका युवा खाडी मुलुक तथा भारतीय सहरमा ऊर्जा खर्चिरहेका छन्।

एक गाँस खान, एकसरो लगाउन र घर परिवार र लालाबालालाई पाल्नैका लागि दिनहुँ सयौँ युवा विदेशी भूमिमा पुग्छन्। देशमै रोजगारी पाए पनि अन्य काम गर्दैनन्। कुनै सरकारी जागिर पाएपछि त्यहीँ मात्रै गर्दछन्। तर हाम्रो समाजमा केही यस्ता व्यक्ति पनि छन् जो सरकारी जागिरसँग अन्य काममा पनि आफ्नो ऊर्जा खर्चिरहेका छन्। यसैको एक उदाहरण हुन्, अमरगढी नगरपालिका-१ तडिपाटाका प्रकाशबहादुर ऐर। पेशाले उनी सरकारी शिक्षक हुन्।

डडेल्धुरा सदरमुकामबाट पाँच किलामिटर दूरीमा सुन्दर आलुबारी रहेको स्थान हो तडिपाटा। उनले पढाउने विद्यालय घरदेखि १५ मिनेटको दूरीमा रहेको असिग्राम मावि भातकाँडा हो। उनी सो विद्यालयमा गणित र विज्ञान विषय पढाउँछन्। उनी यस पेशमा आवद्ध भएको २२ वर्ष पुग्यो। जसमा ७ वर्ष करार र १५ वर्ष स्थायी।

शिक्षक भनेपछि बिहान १० बजेदेखि ४ बजेसम्म विद्यलायमा रहने, अध्यापन गराउने, अन्य समयमा चिया पसलमा कुनै राजनीतिक दलको गुनगान गाउने, राजनीतिक दलका भातृसंगठनका कार्यक्रममा धाउने, नभए ट्युसन कक्षा दिएर साँझ बिहान गरी दिन बिताउने वा घरमा भोलि पढाउने विषयको पूर्व तयारी गर्ने हो।

तर शिक्षक ऐरको दैनिकी फरक छ। उनी बिहान ६ बजेदेखि ९ बजे (तीन घण्टा) र साँझ ५ देखि करिब ८ बजेसम्म (तीन घण्टा) मातृभूमिको माटोमा रमाउँछन्। तीन महिना आलुसँग रमाउँछन्। तीन महिना काउलीले मनोरञ्जन दिन्छ। अन्य समय घर वरपरका बोटविरुवा, गाईभैंसी, माछाको हेरचाहमा बिताउँछन्। 

२० वर्षदेखि आलु खेती रमाउँदै

प्रकाश सरले आलुखेती सुरु गरेको २० वर्ष भयो। १३ रोपनी जमिनमा उनले आलु खेती गरिरहेका छन्। विगतमा मकै बालीमा सीमित तडिपाटा अहिले नगदेबालीमा धेरै अगाडि पुगेको छ। आलुको सुपरजोन नै घोषणा भएको छ। त्यस क्षेत्रलाई अधिकांशका खेतबारी यो समयमा हरियाली छ।

‘यहाँ सुरुसुरुमा मकै मात्रै लगाउँथ्यौं। हामी मकैमा मात्रै सीमित थियौं,’ उनले भने, ‘पछि बिस्तारै बझ्दै जाँदा आलु खेतीबाट राम्रो आम्दानी हुने थाहा पाएपछि अहिले यहाँका सबैले आलु खेती गर्छन्।’ धेरै स्थानमा सिँचाइको सुविधा छैन भन्दै काम गर्ने छोडेका उदाहरण छन्। इच्छा शक्ति भए सबै हुन्छ भने जस्तै ऐरले खेतीभन्दा तलको खोलाबाट मोटरको प्रयोग गरी बारीमा पानी तानेका छन्। 

सुरुमा आलु खेती गर्दा केही समस्या आफूले भोग्नु परेको उनले सुनाए। ‘मैले १३ रोपनीमा आलु खेती गर्ने गरेको छु। सुरुमा गाईवस्तु पाल्नुपर्ने थियो। जोत्न कठिनाइ पनि थियो,' उनले भने, ‘अहिले यान्त्रीकरणको युग आइसकेपछि आलु सुपरजोनबाट ५० प्रतिशत अनुदानमा मेशिनहरू पनि उपलब्ध भएको छ। त्यसले जोत्ने कामलागयत महिलाले गर्ने काममा पनि सहजता ल्याएको छ।’

प्रकाशले फेरि थपे, ‘दुई जना नै काफी छ, अहिले यन्त्रीकरणको युग आइसक्यो खेत जोत्न गोरु चाहिँदैन। हाते ट्याक्टर छ। त्यसले अहिले सजिलो भएको छ।’

सरलाई म्याडमको साथ

उनको ६ जनाको परिवार छ। आलु खेतीमा घरपरिवारका अन्य सदस्यहरूले पनि साथ दिएका छन्। ‘३ घण्टा बिहान र ३ घण्टा साँझ गरेर हामी बारीमा काम गर्छौं,’ उनले भने, ‘आलु खेती गर्दा मलाई यो म्याडमले पनि सघाउनुहुन्छ। मिलेर काम गर्छौं।’

‘बिहान बेलुका ‘फिजिकल’ पनि हुन्छ। काम पनि हुन्छ। मलाई एकदमै आरामदायी लागेको छ’ उनले थपे।

एकै सिजनमा ६ लाख कमाइ

प्रकाश सरले अहिले एक सिजनमा सरदर १२ देखि १५ टन आलु उत्पादन गर्छन्। आलु राम्रो उत्पादन भएको समयमा एक सिजनमा ६ लाख रुपैयाँ र कम उत्पादन भएको वर्षमा तीन लाख रुपैयाँ आम्दानी हुने उनले बताए।  

बिक्री वितरणमा पनि केही समस्या नभएको उनको भनाइ छ। बीउ आलु उत्पादन गरेको वर्ष नजिकैको उग्रतारा शीतभण्डारमा राख्छन् उनी। तराईका जिल्ला कैलाली, कञ्चनपुर र पहाडी जिल्ला बैतडी, दार्चुला, बझाङ, डोटीका किसानले घरैबाट खरिद गरेर लैजान्छ। 

उनको यो कार्यमा थप बल तथा प्रोत्साहन स्वरुप प्रधानमन्त्री आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वय एकाइ आलु सुपर जोन डडेल्धुराले अनुदान र बेला बेलामा प्राविधिक सहयोग गर्दै आएको छ। सहयोग भएपछि आलु खेतीको दायरा फराकिलो भएको उनले बताए। अहिले खायन आलु (खानका लागि लगाइएको आलु) मात्र होइन। आलुको बीउ पनि उत्पादन गर्न थालेका छन्। खायन आलुको मूल्य करिब २५ देखि ३० हो भने बीउ आलुको मूल्य ७० देखि ८० रुपैयाँ रहेको छ।

आलु खेतीबाटै छोराछोरी अध्ययनदेखि घर निर्माणसम्म

आलुको ब्यवसायिक खेतीबाट आएको आम्दानीले उनले २० वर्षमा १४ रोपनी जमिन खरिद गरेका छन्। साथै उनले करिब एक करोडको लगानीमा पक्की घर समेत बनाएका छन्।

‘एक छोरालाई काठमाडौंमा ‘बायोलोजी’ पढाउँदैछु। एक छोरी अनमी बढाएँ,’ उनले भने, ‘एक छोरी कृषि प्राविधिक पास गरेकी छन् भने एक छोरीको बिहे गरिसकेको छु।’ 

विदेशिने युवालाई सुझाव

युवाले खाडी मुलुक तथा भारतीय शहर जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सकेमा धेरै आम्दानी गर्न सकिने उनको ठम्याइ छ। देशमै आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा युवा विदेश पलायन हुनु नपर्ने उनको भनाइ छ। विदेशlने युवालाई उनले आफ्नै देशमा काम गर्न सुझाव दिए।

‘युवाले आफ्नै देशमा केही न केही व्यापार व्यवसाय गर्नु पर्दछ,’ प्रकाश सरले भने, ‘यही नेपालकै भूमिमा पसिना बगाऔँ। विदेश गइरहनु पर्दैन। यहीँ लाखौं काउन सकिन्छ।’

विदेशी भूमिमा घण्टौं पसिना बगाएर छोराछोरीको पालनपोषण गर्नुभन्दा नेपाली भूमिमै पसिना बगाएर आम्दानी गर्न सकिने उनले बताए। विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा कृषि वा अन्य व्यवसाय गरेर मनग्य आम्दानी हुने भएकाले स्वदेशमै केही गर्न युवालाई उनले सुझाए।

साभार : थाहा खबर