भिपिएन प्रयोग गरेर टिकटक नचलाउन संचार मन्त्रालयको अनुरोध

भिपिएन प्रयोग गरेर टिकटक नचलाउन संचार मन्त्रालयको अनुरोध

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असुरक्षित नेटवर्क प्रयोग गरेर टिकटक नचलाउन अनुरोध गरेको छ ।

मङ्गलवार एउटा विज्ञप्ति निकालेर मन्त्रालयले सरकारले टिकटक बन्द गरे पनि फ्री भीपीएन र ओपन डीएनएसको प्रयोग गरेर टिकटक चलाउने क्रम बढेकोले यस्ता नेटवर्क प्रयोग नगर्न अनुरोध गरेको हो ।

फ्री भीपीएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, ब्याल्कमेलमा परिने र जोखिम बढ्ने हुँदा यस्ता नेटवर्क प्रयोग नगर्न आग्रह गरेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए ।

यसैबीच नेपाल प्रहरीको साइबर ब्युरोले पनि अवैध तरिकाले भीपीएन र डीएनएसको माध्यमबाट इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गर्नु जोखिमपूर्ण हुने बताएको छ । अवैध भीपीएन र डीएनएसको माध्यमबाट सामाजिक सञ्चाल चलाउँदा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्त्वपूर्ण डेटा, व्यक्तिगत विवरण र बैंकिङ विवरणहरू असुरक्षित हुन सक्ने चेतावनी दिएको छ ।

यस्तै विद्युतीय स्वरूपमा गैरकानुनी कुरा सम्प्रेषण गर्ने, व्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय भाषिक र धार्मिक सद्भाव खलबलाउने लगायतका गतिविधि नगर्न पनि साइबर ब्युरोले आग्रह गरेको छ ।