१ अर्ब ७ करोडको चामल आयात

१ अर्ब ७ करोडको चामल आयात

धनगढी : सुदूरपश्चिम प्रदेशमा भारतबाट चामलको आयात बर्सेनि बढ्दै गएको छ। कैलालीको त्रिनगर भन्सार नाकाबाट मात्रै पछिल्लो १० महिनायता १ अर्ब ७ करोडभन्दा बढीको चामल आयात भएको हो।

गतवर्ष सोही नाकाबाट ८८ करोडको चामल आयात भएको थियो। चालु वर्षको १० महिनामै १९ करोडभन्दा बढीको चामल आयात भएको छ।

कैलाली भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत इश्वरी अर्यालले चालु आवको वैशाख मसान्तसम्म कैलालीको त्रिनगर नाका भएर १ अर्ब ७ करोड ९० लाख मूल्यको चामल आयात भएको जानकारी दिए। यस अवधिमा आयात भएको २१ हजार ३ सय १ मेट्रिक टन चामलबाट भन्सार कार्यालयले ६ करोड ३७ लाख राजस्व संकलन गरेको छ।

‘गतवर्ष ८८ करोडको १८ हजार ९ सय ३५ मेट्रिक टन चामल आयात भएको थियो’, अर्यालले भने, ‘चालु वर्षको १० महिनामै १९ करोड बढीको चामल आयात भएको छ।’ आर्थिक वर्ष सकिन अझै बाँकी रहेकाले यसवर्ष चामल आयात अझ बढ्ने उनको भनाइ छ। प्रदेशमा चामलको उत्पादन घट्दा आयात बढ्दै गएको जनाएको छ। भारतीय चामललाई प्रतिस्थापन गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके चामलको आयात घट्ने भन्सार अधिकृत अर्यालको बुझाइ छ।

कैलाली र कञ्चनपुरलाई धान उत्पादनको भण्डारणका रूपमा हेरिए पनि भारतमाथिको परनिर्भरता अझै हट्न सकेको छैन। भारतीय आयात बर्सेनि बढिरहँदा पनि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमै उत्पादन बढाउन पहल गर्न नसकेको जनगुनासो छ। तर, सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि मन्त्रालयका उपसचिव यज्ञराज जोशी भने भारतीय आयात रोकी प्रदेशमै उत्पादन बढाउने खाले कार्ययोजना बनिरहेको बताउँछन्।

आयात घटाउन मसिनो तथा बास्नादार धानखेती विस्तार गर्ने

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मसिनो तथा बास्नादार धानखेती विस्तार गर्ने कार्यक्रम अघि सारेको छ। १ करोड ८ लाखको लगानीमा मन्त्रालयले किसानलाई बीउ, मल र कृषि औजारमा अनुदान दिने भएको छ।

अन्नपूर्ण दैनिक बाट