विश्वकप फाइनल आज : भारत र अस्ट्रेलिया खेल्दै

विश्वकप फाइनल आज : भारत र अस्ट्रेलिया खेल्दै

काठमाडौं । भारतमा जारी विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन्। भारतको अहेमदाबादमा घरेलु टोली र अस्ट्रेलिया विश्वकप उपाधिका लागि आमने–सामने हुन लागेका हुन्। भारतको लक्ष्य अस्ट्रेलियालाई छैटौं पटक उपाधि जित्नबाट रोक्दै आफू तेस्रो पटकको विश्वकप विजेता बन्ने छ।

प्याट क्युमिन्सको टोली भने रोहित शर्माको टोलीलाई घरेलु मैदानमा हराउँदै उपाधि उचाल्ने मौका कुरिरहेको छ। सन् २०११ महेन्द्रसिंह धोनीको कप्तानीमा दोस्रो पटक विश्वकपमा उठाएको भारतले त्यसयता फाइनलमा स्थान बनाउन सकेको थिएन। २०१५ उपाधि जितेको अस्ट्रेलियाको त्यसयता यो पहिलो फाइनल हो।

साउथ अफ्रिकामा सन् २००३ पछि यी दुई टोली पहिलोपटक फाइनलमा भेट हुँदैछन्। भारतीय टिमलाई त्यसबेलाको हारको बदला लिन यो उपयुक्त अवसर हुन सक्छ, त्यो पनि लाखौं घरेलु दर्शकलाई साक्षी बनाएर।

दुई टोलीको फाइनल यात्रा
अस्ट्रेलियाले अहिलेसम्म सात फाइनल खेलेको छ। जसमा पाँच पटक उपाधि जित्न सफल भयो भने दुई पटक उपविजेतामै चित्त बुझाउन बाध्य भयो। सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको अस्ट्रेलिया १९७५ को पहिलो विश्वकपमा वेस्ट इन्डिज र १९९६ मा श्रीलंकासँग फाइनलमा चुकेको थियो। सबैभन्दा बढी फाइनल खेल्ने र सर्वाधिक पाँच पटक उपाधि जित्ने टोली पनि अस्ट्रेलिया नै हो।

त्यस्तै, तीन पटक फाइनल खेलेको भारतले सन् १९८३ र २०११ मा उपाधि जितेको थियो। २००३ मा भारतले फाइनलमा १२५ रनको लज्जास्पद हार व्यहोरेको थियो। घरेलु टोलीको स्लोगन ‘तीनका ड्रिम’ पूरा गरेर पुरानो बदला चुक्ता हुने आशामा घरेलु टोलीका समर्थक आशावादी छन्।