नेपालमा अस्थिरता ल्याउन विदेश शक्तिहरु लागिरहेका छन्ः काँग्रेस केन्द्रिय सदस्य रावल

नेपालमा अस्थिरता ल्याउन विदेश शक्तिहरु लागिरहेका छन्ः काँग्रेस केन्द्रिय सदस्य रावल

धनगढी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा नेता रणबहादुर रावलले नेपालमा अस्थिरता ल्याउन विदेश शक्तिहरु लागिरहेको बताएका छन् ।

नेपाली काँग्रेस गैर सरकारी संस्थाको आयोजनामा समन्वय विभाग केन्द्रिय समिति तथा नेपाली काँग्रेस केन्द्रिय सदस्य रणबहादुर रावलसंग परिचयात्मक कार्यक्रममा बोल्दै उनले लोकतन्त्र सक्न विदेशी शक्तिहरुको चलखेल बढीरहेको बताएका हुन् ।

‘नेपालमा लोकतन्त्रको रक्षकनै नेपाली काँग्रेस पार्टी हो । अहिले विदेशी शक्तिहरु काँग्रेस पार्टी सक्नतर्फ अग्रसर भएका छन्’ उनले भने –‘अहिले विभिन्न बहानामा नयाँ पार्टी तथा विदेशबाट फर्केर जनप्रतिनिधिमा निर्वाचित व्यक्तिहरुमा विदेशी सहयोग बढेको छ ।’

उनले अहिले नेपालमा नकारात्मक मानसिकता बढाउने क्रम बढ्दै गएको बताए । उनले भने –‘अहिले समाजमा पार्टीलाई गाली गर्ने, नराम्रो देखाउन खोज्ने जस्ता आवाज बढेको छ । यसरीनै समाज नकारात्मकतर्फ अघि बढे पार्टीलाई खतरा रहेको छ । नेपाली काँग्रेसलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भइरहेको छ ।’

नेता रावलले गैरसरकारी संस्था सेवामुलक संस्था रहेकाले नेपाली काँग्रेसले अब तयार पार्ने आगामी कार्यक्रममा गैससलाई प्राथमिकतामा राखेर नीति ल्याउने बताए । उनले भने –‘पार्टीको अन्य संगठनभन्दा गैसस संस्था जनताको प्रत्यक्ष सेवामा जुटेको हुन्छ । यसका लागि अब पार्टीले नीतिनै बनाएर अघि बढ्न जरुरी छ ।’

नेपाली काँग्रेसकी केन्द्रिय सदस्य शुशिला मिश्र भट्टले नेपाली काँग्रेसप्रति आस्थावान रहेका गैससहरुलाई अभिभावकको अभाव रहेको बताइन् । उनले भनिन –‘पार्टीले गैससको महत्व नबुझ्दा अभिभावकविहिन बनेको आभास भएको छ । यसको संरक्षणको आवश्यकता रहेको छ ।’ उनले पार्टीले यसलाई आफनो नीतिसंग नजोडेसम्म समस्या समाधान नहुने बताइन् ।

कार्यक्रममा सहभागिहरुले पार्टीकै नेतृत्व, जनप्रतिनिधिबाट पार्टीप्रति आस्थावान गैससहरुले सहयोग नपाइरहेको, पार्टीले गैससको महत्व नबुझेको बताएका छन् । ‘गैससका छाता संगठन, सामुदायिक वनको छाता संगठनमा अहिले काँग्रेसप्रति आस्थावान व्यक्तिको सहभागिता छैन्’ लोकतान्त्रिक गैरसरकारी संस्था कैलालीका अध्यक्ष देवबहादुर धामीले भने –‘दलित आन्दोलन, मुक्त कम्लहरी, मुक्त कमैया, हलिया प्रथाको अन्त्य लगायत विभिन्न आन्दोलनको अग्रसरता नेपाली काँग्रेसको थियो तर, अहिले पार्टीले त्यसमा योग्दान पुर्याउने व्यक्तिहरु पहिचान गर्न नसक्दा समस्या भएको छ ।’ उनले पार्टीले जिम्मेवारी दिँदा कुनै मूल्याकन नगर्दा समस्या भएको उनको भनाई छ ।

लोकतान्त्रिक गैरसरकारी संस्था कैलालीका अध्यक्ष धामीको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्यबारे वेद अवस्थीले जानकारी दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन चक्र नेपालीले गरेका थिए ।