एक्चुअरी पठनपाठनमा सुदूरपश्चिमका विद्यार्थी कम आकर्षित

एक्चुअरी पठनपाठनमा सुदूरपश्चिमका विद्यार्थी कम आकर्षित

धनगढी । गणित कला र विज्ञान दुवै हो । गणितको अध्ययनले तपाईंलाई गहिरो तर्क कौशल, मात्रात्मक साक्षरता, र वैज्ञानिक प्रवाह विकास गर्न मद्दत गर्दछ ।

यो संयोजनले व्यवसाय, सरकार, उद्योग, कानून, चिकित्सा, राजनीति, र शिक्षण जस्ता क्षेत्रहरूमा विभिन्न क्यारियरहरूको लागि बलियो पृष्ठभूमि प्रदान गर्दछ ।

तपाईंले बीजगणित र ज्यामिति जस्ता मानक विषयहरूमा पाठ्यक्रमहरू लिन चाहानु भएको छ भने नेपालमै यसको अध्यापन हुने गरेको छ । यसको पठनपाठन त्रिभुवन विश्वविद्यालयमा हुँदै आएपनि यस संकायतर्फ सुदूरपश्चिम प्रदेशका विद्यार्थीको सहभागिता न्यून रहेको छ ।

विषयका बारेमा प्रचार–प्रसार कम हुनु र विद्यार्थीलाई जानकारी नहुनुले सुदूरपश्चिम प्रदेशका विद्यार्थीको रोजाइ कम रहेको जनाइएको हो ।

गणित बिज्ञान स्कुल बल्खुका कार्यक्रम संयोजक केशबराज फुलाराले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै विश्वमै उत्कृष्ट पेशाको रुपमा लिइने एक्चुअरीको पठनपाठन गर्न सुदूरपश्चिम प्रदेशका विद्यार्थी कम रहेका छन् । यसको सिमित सिट संख्या भएपनि यसतर्फ प्रदेशका विद्यार्थीको सहभागिता बढाउन चाहन्छु । त्यसकारण यसको सञ्चारमाध्यमबाट ब्यापक प्रचार हुन जरुरी रहेको छ ।’

उनले ब्याचलरतहको भर्ना अभियान सकिएपनि मास्टर तहमा केही दिनमा भर्ना शुरु हुने भएकाले यसतर्फ जोडिन आवश्यक रहेको बताए ।

एक्चुअरी ब्याचलर र डेटा संकाय मास्टर तहमा हुने उनको भनाई छ । उनले एक्चुअरी पठनपाठन गर्ने विद्यार्थीहरुले भविष्यमा बेरोजगारीको समस्या नझेल्ने बताए । उनले भने ‘भविष्यमा आउने जोखिम व्यवस्थापन गर्ने वा रणनीति बनाउने विशेषज्ञ नै एक्चुअरी हो । विश्वमै उत्कृष्ट पेशाको रुपमा लिइने एक्चुअरीको संख्या नेपालमा भने शुन्य अवस्थामा रहेकोछ ।’

उनले एकातिर एक्चुअरीको अभावले नेपालका बीमा कम्पनीहरुले समयमा प्रतिवेदन तयार गर्न नसक्ने र अर्कोतिर एनएफआरएस प्रणालीमा प्रतिवेदन निकाल्नुपर्ने तथा विगतभन्दा चुक्ता पूँजी कोष समेत बृद्धि  भएकाले बैंक तथा बीमा कम्पनीहरुमा एक्चुअरीको अभाव रहेको बताए ।

उनले बीमा व्यवसायमा बीमालेख तयार पार्न, बीमाशुल्क निर्धारण गर्न, बीमा दाबी पर्न सक्ने संख्याको पूर्वानुमान, कम्पनीको सम्पत्ति तथा दायित्वको अवस्थाको मूल्याङ्कन, बीमितलाई प्रदान गर्नुपर्ने बोनसदर निर्धारण गर्न एक्चुअरीको आवश्यकता पर्ने गरेको बताए ।

उनका अनुसार बीमांकीय मुल्यांकन जीवन बीमा कम्पनीहरुको लागि अपरिहार्य रहेको छ भने निर्जिबन बीमामा समेत यसको आवश्यकता पर्दछ ।  बीमा बाहेक बैंक, सञ्चयकोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका साथै लगानी व्यवस्थापन गर्ने निकायमा समेत यसको आवश्यकता पर्दछ । 

नेपालमा पहिलो पटक गणित विज्ञान स्कुलले २०७३ सालदेखी एक्चुअरीयल साईन्स विषयको पठनपाठन शुरु गरेको थियो । यस स्कुलबाट पास आउट भएका विद्यार्थीहरु मध्य केही उच्च शिक्षा हासिलका लागि अमेरीका, यूरोप, अष्ट्रेलिया र धेरैजसो विद्यार्थीहरु नेपाल तथा भारतका विभिन्न कम्पनीहरुमा कार्यरत रहेको फुलाराको तर्क रहेको छ ।