पर्यटन मन्त्री धामीले गरे पाताल भुवनेश्वरको स्थलगत अवलोकन

पर्यटन मन्त्री  धामीले गरे पाताल भुवनेश्वरको स्थलगत अवलोकन

ललित बोहरा/ बैतडी  । सुदूरपश्चिम प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले बैतडीमा रहेको प्रसिद्ध पाताल भुवनेश्वर धार्मिक क्षेत्रको अवलोकन गरेका छन् । शनिवार बिहान मन्त्री धामीले पाताल भुवनेश्वर क्षेत्रमा पुगेर अवलोकन गरेका हुन् । 

प्रदेशका पर्यटकीय स्थलहरूको अवलोकन गर्ने क्रम मन्त्री धामीले शनिवार बिहान पाताल भुवनेश्वर धाममा पुगेको बताए ।

पाताल भुवनेश्वर धार्मिक क्षेत्रको अवलोकन गर्दै मन्त्री धामीले नैनी ताल जस्तै बनाउन सकिने बताए । उनले भने, ‘यो क्षेत्र नैनी ताल जस्तै रहेछ चारै तिर जंगल बिचमा ताल, गुफाहरु छन् यसको संरक्षण र प्रचार प्रसारमा सुदूरपश्चिम सरकारले पहल गर्छ स्थानीयले सहयोग गर्नु पर्छ।’

पाताल भुवनेश्वर क्षेत्रमा रहेको कहिले नसुक्ने प्राकृतिक ताल र प्राकृतिक गुफाको प्रचारप्रसार, संरक्षण– सम्वद्र्धन तथा गुफाहरुको खोज अन्वेषणका लागि प्रदेश सरकारले पहल गर्ने मन्त्री धामीले प्रतिबद्धता व्यक्त गरे । 

उनले भने ‘मैले मन्त्रालयको कार्यभार सम्हालिसकेपछि प्रदेशभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको अवलोकन गरिरहेको छु । यस्ता क्षेत्रहरुको विकास तथा अध्ययन अनुसन्धान गर्नका प्रयास मैले गर्छु ।’

मन्त्री धामीसँगै पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा लगायत अन्य सरोकारवालाहरु पाताल भुवनेश्वर धाम क्षेत्रमा पुगेका थिए । 

No description available.

पाताल भुवनेश्वर धाम अग्लो डाँडोमा अवस्थित भए पनि धाममा कहिले नसुक्ने प्राकृतिक ताल रहेको छ । पाताल भुवनेश्वरको धामको बारेमा स्कन्द पुराणको हिमवत खण्डमा समेत उल्लेख गरिएको पाइन्छ ।

भगवान् विष्णुले राजा बलिलाई पाताल पठाएको र सोही बेलादेखि पातालभुवनेश्वरनाम रहेको बताइएको छ । यस्तै अर्को प्रसंगमा भगवान् शिवले सतीको पार्थिव शरीरलाई बोकेर पृथ्वी घुम्ने क्रममा सतीदेवीको पैताला खसेर पाताल भुवनेश्वर शिव शक्तिको रूपमा स्थापित भएको किंवदन्ती छ ।

No description available.

यस्तै पाताल भुवनेश्वर क्षेत्रमा दक्षिण एसियाकै लामो गुफा रहेको बताइन्छ । यसको चारैतिर अन्य गुफाहरु पनि रहेका छन् । पाताल भुवनेश्वर धाम महाशिवरात्रीको अवसरमा ठुलो मेला लाग्ने गर्दछ भने श्रावणको महिना पनि भक्तजनहरू दर्शनका लागि पुग्ने गरेका छन् ।