धनगढीमा भीषण आगजनी, झन्डै १८ करोडको क्षति

धनगढीमा भीषण आगजनी, झन्डै १८ करोडको क्षति

धनगढी ।  धनगढी बजारमा रहेको सारथि अस्पतालसहित आधा दर्जनबढी पसलमा भएको भीषण आगलागीबाट झन्डै १८ करोडको क्षति भएको छ । 

विद्युत् सर्ट भएर आगलागी हुँदा १७ करोड ९७ लाख २० हजार बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए । 

आगलागीबाट सारथि अस्पताल प्रालिको पाँच करोड ५० लाख, गरिमा पोलिक्लिनिकको ३० लाख, सुदिक्षा इन्टरप्राइजेजको एक करोड २० लाख रुपियाँ बराबरको मालसामान नष्ट भएको छ ।

यस्तै, भट्ट सप्लायर्सको ७० लाख, भण्डारी सु सेन्टरको ५० लाख, भण्डारी जनरल स्टोरको चार करोड २५ लाख, मधुमाला कलेक्सनको ६० लाख रुपियाँ बराबरको क्षति भएको छ ।

यसैगरी, सुभिक्षा बेबीसपको ९० लाख, खाद्य व्यापार तथा कम्पनी लिमिटेडको चार करोड रुपियाँ बराबरको गोदामको भौतिक संरचना र गोदाममा कार्यरत कर्मचारीको २ लाख २० हजार रुपियाँ बराबरको स्कुटर जलेर नष्ट भएको डिएसपी चन्दले बताए ।

No description available.

शुक्रबार राति १ बजे भण्डारी सुज सेन्टरमा अचानक विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ । सारथी अस्पतालमा आगलागी भएपछि राति नै बिरामीहरुलाई अन्यत्र सारिएको अस्पतालले जनाएको छ ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोली समेत परिचालन गरिएको थियो । 

धनगढी उपमहानगरपालिका, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।