'कटी दिदी' भन्ने गर्थिन्– म मरेको कसैले थाहा पाउँदैनन् होला

'कटी दिदी' भन्ने गर्थिन्– म मरेको कसैले थाहा पाउँदैनन् होला

'म मरेको कसैले थाहा पाउने होइनन्, म मर्दा कोही पनि रुने होइनन्, मेरो काजकिरिया कसैले गर्ने होइनन्, मैले त मर्दा कात्रो पनि पाउँदिन होला...', यस्तै यस्तै चिन्ता गर्ने गर्थिन् कटी दिदीले । डाेटीकाे दीपायलमा कटी दिदीका नामले परिचित भगवती रोस्याराकाे निधन हुँदा अहिले सिंगाे समाज राेएकाे छ । सामाजिक सञ्जालका भित्ताहरू उनलाई दिइएका श्रद्धाञ्जलीका शब्दले भरिएका छन् । 

डोटीको आर्दश गाउँपालिका हिन्नेकाँडामा जन्मिएकी कटी दिदीको शुक्रबार साँझ दुर्घटनामा परी निधन भएको छ । एकदमै मिलनसार र मिहिनेती कटी दिदीले संसार छोड्दा आज धेरैलाई रुवाएको छ । कटी दिदीको सानैमा विवाह भएको थियाे । तर, उनीबाट जन्मेका बच्चा बाँच्न सकेनन् । त्यसपछि श्रीमानले अर्को विवाह गरे । उनलाई पछि सेतो दुबि पनि देखिन थाल्यो ।

घरपरिवारले साहरा नदिएपछि उनले घर छोडेर आफन्त तथा स्थानीयका घरमा बास बस्न थालिन् । तर, उनले अरुको कमाइ भने कहिल्यै खाइनन् । उनी प्राय जसाे दीपायलकाे पिपल्ला बजारतिर नै भेटिन्थिन् । उनी प्राय स्थानीय रामबहादुर बोगटीको घरमा बस्ने गर्थिन् ।

उनले समाज परिवर्तनमा लागि विभिन्न आन्दोलनहरूमा सहभागिता पनि जनाएकी थिइन् । सुदूरपश्चिममा भएका सबै ठूला आन्दोलनमा उनी अघि सरिन् । आफू बसेको क्षेत्रको नेतृत्व लिइन् । उनी २०६२/०६३ को जनआन्दोलनदेखि अखण्ड सुदूरपश्चिम आन्दोलनमा अग्र माेर्चामा थिइन् । आफू ब्राह्मण समाजमा जन्मिएकी उनले अरुलाई विभेद गर्नु हुँदैन भनेर शिक्षा दिने गरेकाे स्थानीय सुनाउँछन् । जीवनभर अनागरिक भएर बसेकी उनले नागरिकता पाएको केही वर्षमात्रै भएकाे थियाे । समाजका अगुवाकाे सहयाेगमा उनकाे नागरिकता पाउने सपना पूरा भएकाे थियाे । 

सामाजिक क्षेत्रमा कार्यरत हेमराज जोशीले कटी दिदी एउटा निडर र साहसी महिला भएकाे बताउँछन् । उनले आफू एक्लै हुँदा पनि अरुलाई बाँच्ने आधार सिकाएर हिँड्ने गरेकाे जाेशीले बताए । ‘उहाँलाई एउटा मनोसामाजिक परामर्शकर्ताका रूपमा पनि हामीले चिन्ने गरेका छौँ । आफू एक्लै हुँदा पनि अरुकोही दु:खी हुँदा  सम्झाई बुझाई हँसाउने काम गर्नुहुन्थ्याे,’ जाेशीले भने ‘उहाँलाई पनि सबैले माया गर्नुहुन्थ्यो ।' 

'मेरो एकदमै निकट मान्छे हाे कटी दिदी उहाँले छोडेर गएको म पत्याउनै सकिरहेको छैन  । म डोटी गयो भने उहाँलाई सधैँ भेट्थे र केही पैँसा खानेकुरा दिएर फर्किन्थे,’ सुदूरपश्चिम प्रदेशकी पूर्व आन्तरीक तथा कानुन मन्त्री पूर्णा जोशी भन्छिन्, 'उहाँ जस्तो इमान्दार  र मिहिनेती मान्छेलाई गुमाउँदा मन एकदमै रोएको छ ।'

खर्चकाे जाेहाे गर्न कटी दिदीले कहिलेकाहीँ अभिनय समेत गरेर देखाउथिन् । ‘मैले त्यसै त भात कसरी खानु भनेर होटेलमा पागल भएकोझैँ गरी अभिनय देखाउने र बाहिर भात खानलाई पनि एउटा अभिनय चाहिन्छ भनेर कटी दिदी सुनाउनुहुन्थ्यो,’ जोशीले भनिन् । 

'चोरर र मागेर त खानुभएन, सधैँभरी आफैँ कमाउनुपर्छ भनेर कट्टा (बाेरा)मा राजपुरबाट रातो माटो लगेर उहाँले दीपायत बजारमा बेचेर कमाउनुहुन्थ्याे', जाेशीले थपिन् ।'

'बेसहारा भए पनि मिहिनेको कमाइ  र माया गरेर दिएको दक्षिणा बाहेक तपाईंले मागेर खानुभएन', रोस्याराको मृत्युपछि उनका शुभेच्छुकहरूले सामाजिक सञ्जालमा सबैभन्दा धेरै यही वाक्य प्रयाेग गरेर श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । 

सधैँ एक्ले यात्रा गर्ने कटी दिदी कसरी परिन् दुर्घटनामा ?

कटी दिदी तिहारमा आफ्नो माइतीघर आएकी थिइन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको राजघाटमा उनी आफ्दा दाइ–भाइ र भदुहरूसँग टीका लगाउन आएकी थिइन् । 

शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ ख ९६५० ट्रकको ठक्करबाट उनको मृत्यु भयो । ट्रक र चालक डडेल्धुराको अजयमेरू गाउँपालिका–१ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।