आमाहरूलाई सुरक्षित गर्भपतनबारे सिकाउने छोरीहरू

आमाहरूलाई सुरक्षित गर्भपतनबारे सिकाउने छोरीहरू

सविता बुढा/धनगढी । कैलालीको चुरे गाउँपालिका–४ तुडेपानीकी १९ वर्षीय पुजा विक डेढ वर्ष अघि पाँच दिने तालिममा सहभागी भएकी थिइन्।

उक्त तालिम प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन सम्वन्धी थियो। तालिममा महिनावारी, परिवार नियोजनका साधनको प्रयोग, सुरक्षित गर्भपतन महिलाको प्रजनन अधिकार जस्ता कुराहरू उनले सिक्न पाइन्।

उनी छर्लंग भइन्– महिनावारी भनेको पाप लाग्नु होइन रहेछ। महिनावारी स्वभाविक र प्राकृतिक प्रक्रिया रहेछ। महिनावारी भएपछि महिलाले बच्चा पाउन सक्ने रहेछन्। गर्भपतनका बारेमा पनि उनले समाजमा तालिम अघि गर्भपतन पाप हो, गर्भपतन गरे पाप लाग्छ भन्ने धारणा सुनेकी थिइन् तर, सुरक्षित गर्भपतनका बारेमा उनी खासै जानकार थिइनन्।

तालिमपछि उनले सुरक्षित गर्भपतनले अनिच्छित गर्भ बस्दा हुने समस्या रोक्छ भन्ने कुरा थाहा पाइन्। गाउँमा अनिच्छित गर्भ बस्दा समस्यामा परेका महिलाहरूका समस्याबारे भने उनी जानकार थिइन्। धेरै बच्चाहरू जन्मदा पारिवारिक भार, स्वास्थ्यमा असर परेको, सानै उमेरमा आमा बन्नुपरेको जस्ता समस्यामा परेको महिलाहरूमा समस्या उनले नजिकबाट देखेकी थिइन्।

उनले तालिममा सिकेका कुरा गाउँका महिला तथा किशोरीहरूलाई सिकाउने सोच गरिन्। यी कुरा उनले सबैभन्दा आफूले लागू गरिन्। तुडेपानीका किशोरीहरूले महिनावारी हुँदा स्कुल जाने गरेको बाटै फेर्न पर्थ्यो। सधैँ स्कुल जाने माथिल्लो बाटो फेरेर तल्लो हिँड्नु पर्ने उनीहरूको बाध्यता थियो। बाटोमा देउताको थान भएकाले महिनावारी हुने महिलाहरू माथिल्लो बाटो हिँड्न नपाइने गाउँको नियम थियो। देउता रिसाउने डरले पुजा र अरू किशोरीहरू तलबाट घुमेर विद्यालय जान्थे।

तालिमले आफ्नो आँखा खोलेपछि महिनावारीका बेला तल्लोबाटो हिँड्न उनले छोडिन्। ‘आफूले आनको तान कुरा बुझेपछि र महिनावारी पाप होइन भन्नेमा विश्वास भएपछि पहिलेका व्यवहारमा परिवर्तन नगरी बस्नै सकिन्न रहेछ। नेपालगञ्जबाट फर्केर आएपछि म महिनावारी हुँदा तल्लो बाटो हिँड्न छोड्दिएँ,’ उनले भनिन्।  

आफूले मात्र हिँड्न छोडेकी होइनन्, गाउँका दिदीबहिनी साथीभाइलाई आफूले सिकेको कुरा बताइन्। उनीहरूलाई पनि महिनावारीका बेला उल्टो धेरै दुःख पाइरहेको कुरा सम्झाइन्। एक, दुई गर्दै उनलाई साथ दिनेको संख्या बढ्यो। अहिले उनका गाउँका अधिकांश किशोरीहरू महिनावारी भएको छोटो बाटो भएर स्कुल जान थालेका छन्।

‘महिनावारी भएका बेला समाजमा गर्ने भेदभावमा पनि अहिले केही परिवर्तन भएको छ, यताउति जानु हुँदैन भन्थे पहिला, अहिले खासै रोकतोक छैन,’ उनले भनिन् ।

पुजाले तालिममा परिवार नियोजनका साधनको प्रयोग, र सुरक्षित गर्भपतन महिलाको प्रजनन अधिकार जस्ता कुराहरू सिकेपछि आफ्नो गाउँका मान्छेलाई सचेत गराउने काम सुरू गरिन्। पुजाजस्तै अन्य ४ जना महिला र किशोरीहरूले गाउँमा प्रजनन् स्वास्थ्यबारे सिकाउने गर्छन्। गाउँभरिका महिला जम्मा पारेर एक ठाउँमा राख्छन् अनि आफूले जानेका कुरा भन्छन्। कति महिलाहरूले प्रश्न सोध्छन् उनीहरू उत्तर दिन्छन्। यस्तो कक्षा उनीहरूले १५ दिनको एक पटक गर्छन्।

सुरू सुरूमा उनीहरूले गाउँभरिका महिलालाई भेला पार्न गाह्रो हुन्थ्यो। धेरै आउँदा पनि आउन्नथे। जति आउँथे त्यतिलाई उनीहरूले सिकाउँथे। आफ्नो काम लाग्ने कुरा सिकाउने रहेछन् भनेर उनीहरूले नै सायद अरूलाई पनि सूचना दिए।

त्यसपछि वैठकमा आउने महिलाहरूको संख्या बढ्न थाल्यो। अहिले त एउटा कक्षामा उनीहरू सुरक्षित गर्भपतनको आवश्यकता र महत्वको वारेमा पनि महिलाहरूलाई सिकाउने गर्छन्। यस्तै गर्भ निरोधका उपाय के–के हुन्छन्। कुन–कुन विधिबाट गर्भनिरोध गर्न सकिन्छ भन्ने पनि उनीहरू महिलालाई सिकाउँछन्।

त्यस्तै कति वर्षको उमेरमा विहे गर्न मिल्छ, छिटो विहे गर्दा महिलालाई के–के बेफाइदा हुन्छन्, कति वर्षसम्म यौन सम्पर्क राख्न पाइन्न जस्ता कुरा उनीहरूको कक्षामा महिलाहरूले जान्न पाउँछन्। गर्भपतन गर्नेको संख्या गाउँमा धेरै छ। तर कसरी गर्भपतन गर्ने भन्नेबारे महिलाहरूलाई कुनै ज्ञान थिएन। उनीहरू पुरूषको अनुमति भए जहिले बच्चा फ्याले पनि हुन्छ भन्ने सोच्थे।

पुजा र उनका साथीहरूले गर्भपतनलाई फौजदारी कानूनी अपराध हो भन्ने बुझेका छन्। गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भ, जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुने वा निजको शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्ने वा विकलाङ्ग बच्चा जन्मन सक्ने सम्भावना भएमा जुनसुकै समयमा पनि महिलाको मञ्जुरीमा गर्भपतन गराउन सकिने व्यवस्था रहेको कुरा आफूहरूले थाहा पाएको पुजाले सुनाइन्।

कानूनले तोकेको अवधि, प्रक्रिया र स्थानमा नगरेमा महिलालाई समेत सजायको व्यवस्था रहेको थाहा पाएको पुजा सुनाउँछिन्। यी आफूले जाने र सिकेका कुरा महिलाहरूलाई सिकाउने गरेको उनले बताइन्। महिनावारीमा कस्तो प्याड प्रयोग गर्ने, त्यसलाई कसरी सफा राख्ने, महिनावारी कसरी र किन हुन्छ भन्नेबारे आफूले जानेका कुरा अरूलाई सिकाउँछन्।

एक वर्षको अवधिमा समाजमा  सोचेजस्तो आनका तान परिवर्तन ल्याउन सकेका त छैनन् तर महिलाहरूले उनीहरूका कुरा सुन्न थालेका छन्। कतिपय महिला सचेत पनि हुन थालेका छन्। तुडेपानीकी जानकी विकले पुजाबाट धेरै कुरा थाहा पाइएको बताइन्। त्योमध्ये एक हो– महिनावरीको भएको बेला टालो वा प्याड प्रयोग गर्नुपर्छ, सुरक्षित गर्भपतनको सेवा सरकारले अनुमति प्राप्त स्वास्थ्य संस्थाका तालिमप्राप्त स्वास्थ्यकर्मीबाट लिनुपर्छ, १२ हप्ताभित्र यो सेवा लिन सकिन्छ भन्ने कुरा थाहा पाएँ,’ गाउँकी छोरीहरूबाट यस्तो कुरा सिक्न पाउँदा खुसी र ज्ञान पा्रप्त भएको उनको बुझाई छ।

त्यही गाउँकी रमला विकले अघिल्लो पटक असुरक्षित गर्भपतन गरेकी थिइन्। अहिले भने सुरक्षित तरिकाले स्वास्थ्य संस्था गएर गर्भपतन गर्नुपर्ने कुरा सिकेकी छिन्। छोरीहरूबाट प्रजनन् स्वास्थ्य शिक्षा सिक्न पाउँदा आमाहरू खुसी भएको १४ वर्षीया बिन्दु विकले बताइन्। उनले पनि दिदीहरूबाट महिनावारीबारे धेरै कुरा सिक्न पाएर व्यवाहारमा लागु गरिरहेको बताइन्। ‘महिनावारी भएको बेला कसरी आफ्नो ख्याल गर्ने, सरसफाइ कसरी गर्ने भन्ने कुरा अहिले नै काम लागिहाल्यो।

उमेर नपुगी विवाह र यौन सम्पर्क गर्न हुन्न भन्ने पनि  बुझ्यौँ, यति कुरा सिकेर लागु गरेपछि त भोलीका दिनमा स्वास्थ्य समस्या कम होला। सँगै धेरै कुरामा हामी बलिया होलाउँ भन्ने लागेको छ। धन्न बेलैमा दिदीहरूले राम्रो कुरा सिकाए,’ उनले भनिन्।

महिला तथा किशोरीहरू प्रजनन् स्वास्थ्य बारे सचेत हुँदै गएका छन्। तर प्रजनन् स्वास्थ्य समस्या आइहाले सेवा उपभोग गर्न भने त्यहाँका स्थानीयहरूले कठीनाई भोग्नुपर्ने बाध्यता छ। कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ जगातीकी ३७ वर्षीय मनिषा रोकाले गत असोज महिना पाठेघर काटेर फ्याँक्नुपर्यो। लगातार दुई वर्षसम्म मेडिकलको औषधी खाँदा ठिक नभएपछि कोहलपुर मेडिकल कलेजमा चेकजाँच गरिन्। त्यहाँ उनको पाठेघर काम नलाग्ने भएको रिपोर्ट आयो। डाक्टरले अप्रेसन गरे फाल्नु पर्ने सुझाव दिए। डाक्टरहरुको कुरा सुनेर मनिषालाई डर लाग्यो।

पाठेघर फाल्न नसकेर उनी घर फर्किन्। ‘पाठेघर फाल्न डर लाग्यो, डाक्टरले औषधी दिएन, अप्रेसन गरेर नै फाल्नु पर्छ भने,’ मनिषाले भनिन्। पेट बेस्सरी दुख्न थालेपछि फेरि उनी त्यहीँ गइन्।  अप्रेसन गरेर पाठेघर फाल्न पैसाको पनि अभाव थियो। धनगढीबाट नजिकै भारतका अस्पतालमा सस्तोमा अपरेशन हुने कुरा सुनेकी थिइन्। त्यहाँ उनको डेढ लाख रुपैँया खर्च भयो।

पाठेघर फालेपछि अहिले उनको पेट दुख्ने समस्या छैन। तर, गह्रुंगो भारी उठाए समस्या हुन्छ। ‘अहिले पेट देखेको छैन, काम गरे कमजोर भइन्छ, पाठेघर फाले पनि दुःख, नफालेको बेला पनि दुःख नै थियो,’ उनले भनिन्। मानिषाका दुई छोरा र दुई छोरी छन्। उनको १६ वर्षको उमेरमा बिहे भयो। पहिलो सन्तान उनले १७ वर्षको उमेरमा जन्माइन्।

सुत्केरी भएको ३ दिनमै उनले घाँस काट्नुपर्ने भयो। सुत्केरीमा पाउनुपर्ने स्याहारसुसार उनले पाइनन्। त्यसै गरेर उनले अरु तीन सन्तान जन्माउने बेला पनि सुत्केरीकै समयमा मेलापात घाँस दाउरा गर्नुपर्यो। ‘व्यथा लागेको बेला समेत खच्चरले जस्तो भारी बोक्नु पर्यो। कान्छो छोरा हुने समयमा त मैले व्यथा लागेकै बेला पनि दाउराको भारी बोकेकी थिएँ,’ उनले सुनाइन्। अहिले छोरीहरूले सिकाएजस्तो गर्भवती हुँदा के गर्नेदेखि परिवार नियोजनसम्मका कुरा उ बेला जानेको भए आफू जिन्दगीभरिको समस्याबाट मुक्त हुने रहेछु भन्ने उनलाई लाग्छ।