जंगलमा शव फेला परेको महिना बित्यो, कञ्चनपुर प्रहरी भन्छ –‘अनुसन्धान भइरहेको छ’

जंगलमा शव फेला परेको महिना बित्यो, कञ्चनपुर प्रहरी भन्छ –‘अनुसन्धान भइरहेको छ’

धनगढी । ‘फागुनमा धनगढीमा काम गर्छु भन्दै घरबाट श्रीमान जानुभयो । त्यसपछि कहिलेकाहीँ मात्र घर आएका थिए । असोज १८ गते फोन गरेर अत्तरिया छु भन्नु भयो । त्यसको दुई दिनपछि २० गते मेरो फोन बज्यो । मैले उठाए त्यताबाट केही आवाज आएन् ।

फोनमा कुनै प्रतिक्रिया नआएपछि मैले काटेर फोन लगाए तर, उठेन् । त्यसको दश दिनपछि जंगलमा शब फेला पर्यो’ लालझाडी गाउँपालिका वडा नम्बर ३ बस्दै आएकी शुशिला रानाले त्यो दिनलाई स्मरण गर्दै दिएको प्रतिक्रिया हो यो ।

गत असोज २८ गते सामाजिक सञ्जालमा जंगलमा वेवारिसे अवस्थामा युवकको शव भन्दै तस्बिर आएपछि कपडाबाट उनले श्रीमान राजकुमार रानाको शब पहिचान गरेकी थिइन् । राजकुमारको परिवारले सडेको अवस्थामा शव बुझेर अन्त्येष्टि गरिसकेको छ तर उनको मृत्युको कारण खुलेको छैन ।

 शुशिलाले आफुले खेप्नुपरेको धम्की र शब फेला परेको प्रकृति हेर्दा श्रीमानको हत्या भएको दाबी गर्छिन् । भनिन –‘शब भन्दा केही वर चप्पल रहेको थियो । सर्टको एउटै बाहुलाभित्र दुबै हात हालिएको छ । त्यो आफंै कसरी सम्भव हुन्छ ? श्रीमानले हातमा लगाएको औंठी, बोकेको मोबाइल तथा कुनै सामान थिएन् । उनको मोटरसाइकल पनि फेला परेको छैन् । यो आत्म हत्या त होइन । हत्या नै हो तर, कसले र किन गर्यो होला ।’

उनले भनेको अर्को कारण चाहिँ घरपरिवारले पाएको धम्की हो । राजकुमारका आमाबुवा, श्रीमती र दाजुहरुले बताएअनुसार उनले आफूले गर्ने कामबारे घरमा बताएका थिएनन् । उनी नभएका बेला बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष विषराम राना एउटा समूह लिएर पटक–पटक घरमा आएका थिए ।

बेलौरीकै नन्दकली रानाको खाताबाट राजकुमारले तीन लाख रुपैयाँ झिकेको भन्दै त्यो रकम फिर्ता माग्दै उनीहरु घरसम्म पुगेका थिए । वडाध्यक्ष विषरामले राजकुमारको परिवारलाई पैसा फिर्ता नदिए ज्यान मार्नेसम्मको धम्की दिएका थिए ।
‘वडाध्यक्ष विषराम राना १०–१२ जना ल्याएर धेरै पटक हाम्रो घर घेरेर हामीलाई तीन लाख रुपैयाँ नदिए ज्यान लिन्छौं, उखुबारी र ट्याक्टरमा आगो लगाउँछौँ भनेर धम्की दिनुहुन्थ्यो’, राजकुमारका माइलो दाजु प्रेमले भने, ‘मलाई र बुवालाई धम्क्याउन थालेपछि हामीले डेढ लाख रुपैयाँ दियौं । त्यसपछि आउन छाडे ।’

वडाध्यक्ष विषराम रानाले भने सहमतिमै लेनदेनको विवाद मिलाएको बताए । उनका अनुसार नन्दकली रानाको खातामा जम्मा भएको तीन लाख रुपैयाँ झिकिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

नन्दकलीले आफ्नो बयानमा राजकुमारले धनगढी लगेर आफ्नो खाता खोलिदिएको, एटीएम र चेक बुक आफैंले राखेको बताएकी थिइन् । यो थाहा पाएपछि वडाध्यक्ष विषराम राना राजकुमारको घर पुगेका थिए ।

‘धाकधम्की दिएको भन्ने कुरा होइन । बैंकमा खाता खोल्न लगाएर उसले (राजकुमारले) हाम्रो गाउँकी केटीलाई फसाएको रहेछ । खाता खोल्न लगाएर एटीएम, चेक सबै आफैंसँग राखेको रहेछ’, रानाले भने, ‘उसको खातामा तीन लाख जति कहाँबाट हाल्न लगाएको रहेछ, झिकेपछि उसलाई प्रहरीले समातेर लग्यो ।’

अदालतले नन्दकलीलाई तीन लाख रुपैयाँ धरौटी माग गरेपछि समाजका सबै मानिसहरु राजकुमारको घरमा बसेर छलफल गरिएको वडाध्यक्ष विषराम बताउँछन् । सो क्रममा राजकुमारको बाबुलाई कि छोरालाई ल्याउनुस्, कि तपाई जिम्मा लिनुस् वा तीन लाख रुपैयाँ दिनुस् भनेर आग्रह गरिएको रानाको भनाइ छ । छलफलपछि राजकुमारको परिवार डेढ लाख तिर्न तयार भएपछि सहमतिमै नन्दकलीलाई छुटाउन पैसा लिएको वडाध्यक्ष रानाले बताए ।

स्थानीयका अनुसार राजकुमारले गाउँका अरु व्यक्तिको नाममा पनि बैंकमा खाता खोलेका थिए । कृष्णपुर नगरपालिका–३ को देखतभूली बस्ने राजकुमारकी दिदी रजनी रानाले दाजु नाता पर्ने राजेश रानाबाट राजकुमार प्रहरीको थुनामा रहेको सूचना पाएकी थिइन् । राजेशले कृष्णपुर नगरपालिकाकै चेतराज भण्डारीले भनेको भन्दै रजनीलाई राजकुमार पक्राउ परेको बताएका थिए ।

‘राजेश दाजुलाई चेतराज भण्डारीले राजकुमारलाई सीआईडीले लग्यो भनेका रहेछन’, दिदी रजनीले भनिन्, ‘त्यसपछि मैले सोध्दा पनि भण्डारीबाटै पुलिसले लगेको भन्ने कुरा गर्नुभएको थियो ।’

राजेशसँग मोवाइल नम्बर मागेर राजकुमारका दाजु मदनसिंहले चेतराजसँग आफ्नो भाइबारे सोधीखोजी गर्छन् । सो क्रममा भण्डारीले राजकुमारलाई नेपाल प्रहरीको घुमुवा (सादा पोशाकका प्रहरी) ले गुलरियाको जंगलमा रहेको नर्सरीमा लखेटिरहेको अवस्थामा देखेको बताएका छन् ।  

प्राप्त अडियोमा भण्डारी भनिएका व्यक्तिले भोलि बिहान कृष्णपुर आउन आग्रह गर्दै भेटेरै कुरा गर्ने भनेको सुनिन्छ । तर मदनसिंहसँगको कुराकानीपछि चेतराजको फोन अफ भएका कारण सम्पर्क नभएको राजकुमारकी श्रीमती सुशीला बताउँछिन् ।

‘भण्डारीले सीआईडी पुलिसले लखेटिरहेको देखेको थिएँ । उनैसँग कुरा गराइदिउँला भोलि आउनुहोला भनेका थियो’, सुशीलाले भनिन्, ‘जेठाजुले भोलिपल्ट फोन गर्दा स्वीच अफ थियो । त्यो दिनदेखि भण्डारीको फोन स्वीच अफ छ ।’
भण्डारीले प्रहरीले लखेटिरहेको देखेको भनेको क्षेत्र आसपासमै २८ गते राजकुमारको शव भेटिएको हो ।

घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए । उनले भने –‘अहिले प्रहरी समक्ष आफन्तबाट जाहेरी आएको छैन । हामीले घटनाको अनुसन्धान जारी राखेका छौं । अहिलेसम्म कसैसंग आशंका गर्न सकिएको छैन् ।’

उनले शव परीक्षण रिपोर्टबाट पनि खासै केही कुरा नआएको बताए । उनका अनुसार राजकुमार ठगी तथा लागुऔषधसम्बन्धी मुद्दामा मुछिएका व्यक्ति हुन् । राजकुमारका नाममा काठमाडौं र सिराहमा ठगी तथा कैलाली र कञ्चपुरमा लागुऔषध सम्बन्धी मुद्दा रहेको प्रहरीको भनाइ छ ।

छोराको लालपालन कसरी गर्ने चिन्ता

शुशिला र राजकुमारबिच छ वर्षअघि प्रेम विवाह भएको थियो । विवाहको केही दिनमै राजकुमार र शुशिलाबिच घरायसी झै–झगडा हुने गथ्र्यो । शुशिलाले भनिन –‘सामान्य विवाद भइरहन्थ्यो । कहिले काँही हातपात पनि हुन्थ्यो । तर, एक वर्ष यता सम्बन्ध राम्रै थियो ।’

श्रीमानको मृत्यु भएपछि सन्तानको लालनपालन कसरी गर्ने भन्ने चिन्ता रहेको उनको भनाई छ । ‘उहाँ के–कसरी बित्नुभयो अहिलेसम्म प्रहरी प्रशासनले हामीलाई केही पनि बताएको छैन’, सुशीलाले भनिन्, ‘उहाँ बितेर जानुभयो । मेरो काखमा ३ वर्षको बच्चा छ अब यसलाई कसरी हुर्काउने मैले ?’