इजरायल घटनाले चुँडिएको मन : विदेशिने सपना त्यागेर गाउँमै खेती

इजरायल घटनाले चुँडिएको मन : विदेशिने सपना त्यागेर गाउँमै खेती

काठमाडौं । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत अमन मेहता पढ्दै सिक्दै कार्यक्रमअन्तर्गत इजरायल जाने सोचमा थिए । पढाइसँगै राम्रो आम्दानी हुने आसमा उनले इजरायलको सपना देख्दै आएका थिए । इजरायल घटनापछि भने मेहता हच्किएका छन् ।

पढ्दै सिक्दै कार्यक्रमअन्तर्गत इजरायल पुगेका अग्रजसहितका साथी गुमाउनुपर्दा अमनको मन मात्र चुँडिएको छैन, वर्षौँदेखिको उनको सपना समेत तुहिएको छ ।

पढ्दापढ्दै इजरायल गएका साथीहरूले आतंकवादी आक्रमणमा ज्यान गुमाउनुपरेको घटनापश्चात् अमनले सोच बदलेका छन् । सपना त्यागेका छन् । विदेश नजाने निधोमा आफूलाई पुर्‍याएका छन् ।

उनी भन्छन्, “चाहेको भए म पनि इजरायल पुगेको हुने थिएँ । साथीभाइ जाँदा मैले स्थानीयस्तरमै अनुसन्धान गर्छु र सकेर मात्र जान्छु भनी विदेशिने समयलाई पछि सारेको थिएँ । के हुन्थ्योरहुँदैन थियो कसलाई के थाहा रु” उनी गुमाउनुपरेका साथीभाइसँग अध्ययन गर्दाताकाको पल सम्झेर भक्कानिन्छन् ।

इजरायल घटनापछि मन चुँडिएको बताउने अमन अब विदेशिने आफ्नो सपना सपनामै सीमित भएको बताउँछन् । उनी भन्छन्, “अब स्वदेशमै खेतीपाती गर्नेछु । रामपुरमा सिकेको ज्ञानलाई गाउँघरमै व्यावहारिकतामा उतार्दै स्वदेशमै श्रम बगाउँछु । गाउँमै बसेर आर्थिक उपार्जनको बाटो खोज्नेछु ।”

हुन त सुनसरीको हरिनगर गाउँपालिका–३, गौतमपुर घर भएका अमनले कृषि विज्ञान अध्ययन सुरु गर्दा नै खेतीबाली लगाउन थालिसकेका थिए । त्यस बेला अनुसन्धान तथा सिकाइका रूपमा अघि बढाएको उक्त कार्यलाई अब भने व्यावसायिक खेती अँगाल्ने अठोटसाथ उनी अघि बढेका छन् ।

गाउँमै खोलेको एलिसा कृषि फार्मलाई दीर्घकालीन रूपमा अघि बढाउने सोचमा उनी पुगेका छन् । घरमै खोलिएको कृषि फार्मलाई अमनका बुवा रामेश्वर मेहतासहित सिंगो परिवारले साथ दिएको छ । पछिल्लो घटनाक्रमपश्चात् त छोरो घरमै बसोस् र गाउँघरमै काम गरेर कमाओस् भन्नेमा पुगेका छन्, अमनका अभिभावक ।

अमनले कृषि फार्ममा यति बेला सयपत्री फूल फुलाएका छन् । ड्रागन फल फलाएका छन् । पाँच कट्ठा क्षेत्रफलमा ड्रागन फलसहित सयपत्री लगाएका अमन यही कृषि पेसालाई अघि बढाउने तयारीमा पुगेका छन् ।

आफू अध्ययनकै क्रममा रहेको र विदेशिने सोचमा रहँदा थोरै जग्गामा गरेको खेतीलाई अब विस्तार गर्ने तयारीमा रहेको उनले बताए । विदेशिने सोच बदलेर स्वदेशमै काम गरी कमाउने उद्देश्यसाथ लागिपर्ने आफ्नो योजना रहेको उनले सुनाए ।

स्वदेशमै रोजगारी गर्ने वातावरण सरकारले मिलाउन नसकेको भन्दै उनले चिन्ता पनि व्यक्त गरे । उनले कृषि नीतिमा समयसापेक्ष परिवर्तनको खाँचो समेत औँल्याए ।

सरकारले कृषकको हकहितमुखी योजना लागु गर्न सके स्वदेशमै खेतीकिसानी गर्नेलाई राहत मिल्ने उनले बताए । त्यसो गरे व्यावसायिक रूपमा कृषि क्रान्ति सम्भव हुने उनको धारणा छ । न्युज एजेन्सी नेपाल