भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणको काम प्रभावकारी हुन नसकेको संसदीय समितिको निष्कर्ष

भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणको काम प्रभावकारी हुन नसकेको संसदीय समितिको निष्कर्ष

काठमाण्डौ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको स्थलगत अनुगमनमा पुगेको संसदीय समितिले राहत वितरणको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले भौगोलिक विकटता, जनशक्तिको अभाव तथा उचित व्यवस्थापनको कमीकमजोरी देखिएको र यसबाट पीडित परिवारका लागि राहत वितरणको काम अपेक्षाकृत हुन नसकेको निचोड निकालेको हो ।

समितिले प्रभावित क्षेत्रको अवस्था र तत्काल चाल्नुपर्ने कदमसहित सुझाव प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी समेत गरेको छ । समितिका सभापति रामहरि खतिवडाले भूकम्पबाट प्रभावितहरूलाई विना भेदभाव र पूर्वाग्रह समेत नराखी राहत वितरण गर्न आग्रह समेत गर्नुभएको छ ।

सभापति खतिवडाले कसैलाई काखा र कसैलाई पाखा नगरेर राहत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । चिसोको कारण प्रभावितहरूको स्वास्थ्य अवस्था बिग्रन सक्नेतर्फ पनि उहाँले सचेत गराउनुभएको छ । चिसो बढ्दै जाँदा भूकम्प पीडित थप मारमा छन् ।

जाजरकोट भूकम्पपछि ज्यान गुमाउनेको सङ्ख्या एक सय ५४ पुगेको छ । भूकम्पमा घाइते भएका रुकुम पश्चिमका निरोज विष्टको उपचारका क्रममा ज्यान गएको हो । भूकम्पबाट जाजरकोटमा एक सय एक जना र रुकुम पश्चिममा ५३ जनाले ज्यान गुमाएका हुन् । गएको शुक्रवार राति जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । यो भूकम्पमा परेर तीन सय ६३ जना घाइते भएका छन् ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार पूर्णरुपमा २६ हजार ५ सय ५७ र आंशिकरुपमा ३५ हजार ४ सय ५५ घरमा क्षति पुगेको छ । सरकारले तिहार लगत्तै भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम थाल्ने तयारी गरेको छ ।