डडेलधुराको अमरगढी ढुङ्गे किल्ला संरक्षणमा सेना

डडेलधुराको अमरगढी ढुङ्गे किल्ला संरक्षणमा सेना

डडेलधुरा । डडेलधुरा जिल्ला सदरमुकाम खलङ्गामा रहेको ऐतिहासिक ढुङ्गे अमरगढी किल्लाको संरक्षणमा नेपाली सेनाले चासो देखाएको छ । अमरगढी नगरपालिका–५, खलङ्गामा अवस्थित सो किल्ला छ हजार ५०० फिट उचाइमा रहेको छ ।

सो किल्ला ढुङ्गा, माटोसँगै काठले बनेको छ । यसको सिंहको टाउकोको आकार जस्तो छ । श्री ५ रणबहादुर शाहको शासनकाल सन् १८४७ भाद्र ३१ गते नेपाल एकीकरणको सिलसिलामा डोटेली राज्यको नारीदाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्यमा गाभियो भन्ने इतिहास पाइन्छ ।

नारीदाङमा कप्तान रणवीर खत्रीको नेतृत्वमा आएको १० कम्पनीका सैनिक जवान र डोटेली राज्यसँग घमासान युद्ध भएको इतिहास छ । युद्धमा गोरखाली फौजसँग डोटेली फौज पराजित भइसकेपछि यस भूभागको सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी अमरसिंह थापा प्रथम प्रशासकका रूपमा आएको बताइन्छ । 

उनले यस क्षेत्रको संरक्षणसँगै महाकाली नदीपारि पश्चिम काँकडासम्म विजय अभियानलाई जारी राख्नुभएको थियो । सोही कालमा यस ढुङ्गे किल्लाको निर्माण गरिएको बताइन्छ । १८ औँ शताब्दीको जीवन्त इतिहास बोकेको ढुङ्गे किल्ला हाल जीर्ण हँदै गएको छ । 

किल्लाको संरक्षण, प्रवर्धन सुधार तथा स्तरोन्नतिका लागि नेपाली सेना अग्रसर भएको छ । अमरगढी नगरपालिका–१, दहमा रहेको सेनाको रणबम गणका गणपति एवं प्रमुख सेनानी प्रवीण थापाले संरक्षणका सम्बन्धमा छलफल अगाडि बढाउनुभएको छ । अमरगढी नगरपालिकाले आर्थिक वर्ष २०७७–७८ मा पाँच लाख रुपियाँ खर्च गरेर विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको भिडियो प्रदर्शन गर्दै सुझाव सङ्कलन गरिएको छ । सो प्रतिवेदन अनुसार किल्लाको निर्माणको लागि करिब साढे सात करोड रुपियाँ आवश्यक पर्ने देखिएको छ । 

सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले किल्लाको विकासका लागि बजेट अभाव नहुने बताउनुभएको छ । स्थानीय बुद्धिजीवी, राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाजका अगुवाले किल्लाको संरक्षणमा एकजुट हुन जरुरी भएको औँल्याएका छन् । 

 

 

गोरखापत्रबाट