सयपत्री माला किन्न ग्राहकको भिड

सयपत्री माला किन्न ग्राहकको भिड

झापा । बजारमा एक सय रुपैयाँ पर्ने सयपत्री फूलको माला ७० रुपैयाँमा बेचेपछि किन्ने मान्छेको भिड लागेको छ । गौरादह नगरपालिका–६ को महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले अहिले ७० रुपैयाँमा माला बेचिरहेको छ । सहकारीले बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री शुरु गरेको हो । 

सहकारीकी अध्यक्ष मीना ढकालका अनुसार सहकारीले सस्तोमा माला बेच्न थालेपछि झापाकै गौरादह, गौरीगञ्ज, कमल र दमकबाट पनि फूल खरिदका लागि ग्राहकहरु आउने गरेका छन् ।

सहकारीले सस्तो मूल्यमा माला बेचे पनि सहकारीलाई घाटा नहुने भएपछि बजार मूल्यभन्दा सस्तोमा माला बेच्न थालेको उहाँले बताउनु भयो । सहकारीले पाँच कठ्ठा जग्गामा सयपत्री फूलखेती गरेको थियो ।

भारतबाट तिहारका लागि आउने फूल निरुत्साहित गर्न सहकारीले फूलखेती गरेको र आफ्ना सदस्यलाई पनि सयपत्री फूलमा आत्मनिर्भर बन्न प्रोत्साहित गरिरहेको सहकारीले जनाएको छ ।