भूकम्प प्रभावितका लागि राहत दिन हिँड्यो धनगढीबाट जनप्रतिनिधिको टोली

भूकम्प प्रभावितका लागि राहत दिन हिँड्यो धनगढीबाट जनप्रतिनिधिको टोली

धनगढी। धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिको टोली भूकम्प प्रभावितका लागि राहत सामाग्री लिएर कर्णाली प्रदेश गएको छ। नगर उपप्रमुख कन्दकलाकुमारी रानाको नेतृत्वमा कार्यपालिका सदस्यहरूको टोली बिहीबार भूकम्प प्रभावितका लागि राहत सामाग्री बोकेर कर्णाली गएको हो।

कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा भूकम्पका कारण जनधनको क्षति भोग्नुपरेकाहरुका लागि उपमहानगरपालिकाले ६ लाख ३५ हजार मूल्य बराबरको एक सय क्विन्टल चामल पठाएको हो। 

२८ औँ कार्यपालिका बैठकले कर्णाली प्रदेशका भूकम्प प्रभावितका लागि राहत सामाग्री पठाउने निर्णय गरेको थियो। सोही बैठकले भूकम्पबाट ज्यान गुमाएकाहरूको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो। एक मिनेट मौन धारण गर्दै बैठकले निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको थियो।

बिहीबार बिहान नगरप्रमुख गोपाल हमालले कर्णाली प्रदेशको राजधानी सुर्खेतका लागि गएको टोलीलाई राहत सामाग्रीसहित बिदाइ गरेका थिए। 

उपप्रमुखसहितको टोलीले सुर्खेत पुगेर कर्णाली प्रदेश सरकारलाई चामल हस्तान्तरण गरेर फर्कने छ। उपमहानगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख दीपक भण्डारीले भूकम्प प्रभावितहरूलाई राहत दिन बनाइएको सरकारी एकद्धार प्रणालीमार्फत उक्त खाद्यान्न वितरणका लागि पठाइएको बताए।