टीकापुर अस्पतालमा ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया

टीकापुर अस्पतालमा  ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया

टीकापुर । टीकापुर अस्पतालमा ल्याप्रोस्कोपी विधिबाट पित्त थैलीमा भएको पत्थरीको शल्यक्रिया सेवा र कल्चर सेवा सुरु भएको छ ।

टीकापुर नगरपालिका–२ की रमिता चौधरीको पित्तथैलीको पत्थरीको पहिलो शल्यक्रिया भएको छ । ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरिएपछि बिरामीलाई हुने दुखाइ, घाउको आकार घटाएको र बिरामीको अस्पताल बसाइ छोट्याएको छ ।

धेरै मोटो शरीर भएका बिरामीका लागि यो प्रविधि सजिलो भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट नवीनचन्द्र भट्टले बताए।  उनले भने, “अपरेसन सफल भइसकेकाले अब तिहारपछि बिरामीको पित्तथैली, एपेन्डिक्स, सिस्ट र पेटभित्र गोलीका छर्रा जस्ता बाहिरी वस्तु निकाल्न ल्याप्रोस्कोपी गरिने छ ।”

यस्तै रोगको पहिचानका लागि आवश्यक कल्चर गर्न पनि धनगढी वा नेपालगन्ज जानुपर्ने बाध्यता हटेको छ । यसको रिपोर्ट पनि तीनदेखि पाँच दिनपछि मात्रै आउने भएकाले निकै समस्या थियो । 

अनुमानका भरमा एन्टिबायोटिक खुवाउने, केही दिन खाएर ठिक नभए थप्ने वा अर्को एन्टिबायोटिक परिवर्तन गर्ने अवस्था रहेको छ, गलत परे साइड इफेक्ट हुन सक्थ्यो अब टीकापुर अस्पतालमै कल्चर सेवा सुरु भयो, अस्पतालमा ल्याब टेक्नोलोजिस्ट गणेशबहादुर ऐरले भने । 

बिरामीलाई उपचारका लागि एन्टिबायोटिक चलाउनुअघि बिरामीको अवस्था थाहा पाउन रगत, दिसा पिसाबको कल्चर गर्नुपर्ने हुन्छ । जाँच नगरी खाएमा एन्टिबायोटिक गलत परेमा जोखिम हुन सक्छ ।  अब कल्चर गरेर कुन कुन बिरामीले कुन एन्टिबायोटिक खाने भन्ने निश्चित गरिदिने भएकाले बिरामीले सही एन्टिबायोटिक पाउने, समयमै रोग नियन्त्रण हुने टेक्नोलोजिस्ट ऐर बताए । 

 साधनस्रोत र सेवा विस्तार हुँदै जाँदा स्थानीयस्तरमै सेवा पाएकोमा खुसी लागेको जानकी गाउँपालिका–२ का स्थानीय रतललाल चौधरी बताउनुहुन्छ । पत्थरी भएमा पेट चिरेर निकाल्ने सेवाभन्दा पेट नचिरी दुरबिनको सहायताले गरिने ल्याप्रोस्कोपी सेवा लिनेको सङ्ख्या बढ्ने देखिन्छ ।  यी दुवै सेवा लिन बिरामीले बाहिर जानुपर्ने अवस्था अन्त्य भएको टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी बताए । गोरखापत्र