विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र श्रीलङ्का खेल्दै

विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र श्रीलङ्का खेल्दै

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र श्रीलङ्का खेल्दै छन् । यो खेल बेङ्लोरमा नेपाली समय अनुसार दिउँसो सवा दुई बजे सुरु हुनेछ ।

शुरुवाती चार खेल जितेको न्युजिल्यान्ड लगातार चार हारका कारण सेमिफाइनलमा पुग्न सङ्घर्षमा छ । न्युजिल्यान्ड ८ खेलमा ८ अङ्कका साथ चौथो स्थानमा छ । आजको खेल जितेमा न्युजिल्यान्डको १० अङ्क हुनेछ । यो खेल फराकिलो अन्तरले जितमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्न सक्छ । श्रीलङ्का ८ खेलमा ४ अङ्कका साथ नवौँ स्थानमा छ ।

हिजो भएको खेलमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई १ सय ६० रनको फराकिलो अन्तरले हरायो । जितसँगै इङ्ल्यान्डले सन् २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढेको छ । हारसँगै नेदरल्यान्ड्सको विश्वकपमा सेमिफाइनल खेल्ने सम्भावना सकिएको छ ।