रेशम चौधरीविरुद्धको मुद्दामा आजलाई पेसी

रेशम चौधरीविरुद्धको मुद्दामा आजलाई पेसी

धनगढी ।  टिकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरीलाई कैद माफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रिटमाथि सुनुवाइका लागि आजलाई पेसी छ। 

टिकापुर हत्याकाण्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक (इन्सपेक्टर) केशव बोहोराकी श्रीमती शारदा कडायत बोहोराले दायर गरेको रिटमाथि सुनुवाइका लागि बिहीबारलाई पेसी परेको हो। बोहोराले गत जेठ १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। 

टीकापुर हत्याकाण्डमा जिल्ला अदालतबाट दोषी ठहर भएका चौधरी जेठ १५ गते, गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी पाउँदै जेलमुक्त भएका थिए। रेशमलाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला उच्च अदालत र सर्वोच्च अदालतबाट समेत सदर भएको थियो। 

सर्वोच्च अदालतले समेत दोषी ठहर गर्दै जिल्ला अदालत र उच्च अदालतको फैसला सदर गरे पनि सरकारले उनलाई कैद माफी दिने निर्णय गर्दै माफीका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।  

उनलाई कैद माफी दिने निर्णय पीडितको भावना तथा कानुन विपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर भएको थियो। 

उक्त रिटमा पहिलो सुनुवाइ जेठ २३ गते भएको थियो। न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सुनुवाइ गर्दै सरकार, राष्ट्रपति कार्यालय र गृह मन्त्रालयसमेतका विपक्षीहरुसँग रेशमको रिहाईबारे लिखित जवाफ माग गरेको थियो। 

अदालतको आदेशानुसार सबै विपक्षीबाट लिखित जवाफ पेस भएको छ। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतले माफीको बचाउ गर्दै जवाफ पेस गरेका छन्। बिहीबारलाई पेसीमा रहेको उक्त मुद्दा सुनुवाइको पालो आएमा फैसलाकै लागि बहस हुने देखिन्छ।