सुदूरपश्चिम प्रदेशमा विपद् जोखिम न्यूनीकरण प्रादेशिक कार्यमञ्च गठन

सुदूरपश्चिम प्रदेशमा विपद् जोखिम न्यूनीकरण प्रादेशिक कार्यमञ्च गठन

धनगढी । सुदूरपश्चिम प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण प्रादेशिक कार्यमञ्च गठन भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा बुधबार संयुक्त रूपमा आयोजित कार्यक्रममा उक्त कार्यमञ्च गठन गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का सदस्य डा. गङ्गालाल तुलाधर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त प्रतिनिधि स्मिता पौडेल लगायत सरोकारवालाहरूको उपस्थितिमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी वृहत् छलफल पनि गरिएको छ । 

कार्यक्रममा संयुक्त राष्ट्र सङ्घ विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय सचिवालयबाट विश्वव्यापी रूपमा विभिन्न तहमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन गरी विपद् व्यवस्थापनका कार्यलाई समन्वयात्मक र प्रभावकारी बनाउन सबै तहका सरकारलाई आग्रह गरे बमोजिम नेपाल सरकार गृह मन्त्रालयले २०६९ सालमा “विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्च” गठन गरी “विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्च नेपालको कार्य सञ्चालन मार्गदर्शन, २०७७ स्वीकृत गरी लागू गरिएको जानकारी गराइएको छ । कार्यमञ्चको सचिवालय डीपीनेटको तर्फबाट डा. राजु थापाले उक्त मार्गदर्शन अनुसारको प्रादेशिक कार्यमञ्च गठन गर्न विगतमा ३ पटक प्रदेश स्तरमा छलफल कार्यक्रम गरी प्राप्त सुझाव समेत कार्यक्रममा प्रस्तुत गरे ।

नेपाल सरकारका पूर्व सचिव केदार न्यौपानेले कार्यमञ्चको प्रस्तावित संरचनाको प्रस्ताव पेश गरेका हुन् । जस अनुसार कार्यमञ्चको अध्यक्षता आन्तरिक मामिला तथा कानुन मन्त्रीले गर्ने र सङ्घीय कार्यमञ्च जस्तै गरी (क) सरकारी निकाय, ख) अर्ध सरकारी निकाय, (ग) युएन तथा दातृ निकाय, (घ) अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, (ङ) गैरसरकारी संस्था, (च) प्राज्ञिक क्षेत्र, छ) निजी क्षेत्र, ज) सञ्चार क्षेत्र, झ) विपद् प्रभावित समूहको प्रतिनिधि सदस्य हुने तथा डीपीनेट सुदूरपश्चिमले सदस्य सचिवको भूमिका निर्वाह गर्ने प्रस्ताव पेस गरिएको थियो । सोही प्रस्ताव अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा कार्यमञ्च गठन गर्ने निर्णय गर्दै कार्यमञ्चका सदस्यहरूको सम्बन्धमा थप छलफल गरी कार्यमञ्चलाई पूर्णता दिने निर्णय गरिएको छ । 

परिषद्का विज्ञ सदस्य डा। तुलाधरले प्रदेशले आफ्नो वस्तुस्थिति तथा वास्तविकतामा सबै क्षेत्रको प्रतिनिधित्व गराउने यस्ता कार्यमञ्च विपद् व्यवस्थापनको क्षेत्रमा कोषेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो । यसै गरी, कार्यक्रमका अध्यक्ष समेत रहनु भएका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले जोखिम न्यूनीकरण र व्यवस्थापन तथा आपत्कालीन मानवीय सहयोगका सन्दर्भमा समन्वय, सहकार्य, साझेदारी, अध्ययन, अनुसन्धान र ज्ञान आदानप्रदानलाई जोड दिनुपर्ने बताउँदै कार्यमञ्च मार्फत यस्ता कार्यहरू अगाडि बढाइने बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेश सरकार विपद्का दृष्टिकोणले अत्यन्त संवेदनशील रहेको र प्रदेशले विपद् जोखिम न्यूनीकरण गर्न हरतरह प्रयास गरिरहेको बताउँदै सङ्घीय सरकारले प्रदेशको विपद् संवेदनशीलता मनन गर्नुपर्ने धारणा व्यक्त गरे।