कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित होटल सञ्चालक समेत तीन जना पक्राउ परेका छन् । 

जिल्लाको कृष्णपुर नगरपालिका–२ बंक स्थित “होटल माँ डिलासैनी गेष्ट हाउस एण्ड लज”का होटेल सञ्चालक र भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट चक्र घटाल र दिल्ली राज भाट लागूऔषधसहित पक्राउ परेका हुन् ।

बंक स्थित “होटल माँ डिलासैनी गेष्ट हाउस एण्ड लज”का होटेल सञ्चालक ४८ वर्षीय पदमबहादुर कार्की मंगलबार साँझ पक्राउ परेका हुन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कार्कीको आफ्नै घरमा सञ्चालनमा रहेको उक्त होटेलमा चेकजाँच गर्दा ९२.४२ ग्राम लागूपदार्थ चरेस फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै, गड्डाचौकीबाट बेदकोट नगरपालिका–६ का २७ वर्षीय चक्र घटाल र सोही ठाउँका २४ वर्षीय दिल्ली राज भाटलाई २.०७ ग्राम लागूऔषध खैरो हिरोइनसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागूऔषध फेला पारी दुबैलाई नियन्त्रणमा लिएको बताइएको छ ।