भारतद्वारा नेपाल सरकारलाई राहत सामग्री हस्तान्तरण

भारतद्वारा नेपाल सरकारलाई राहत सामग्री हस्तान्तरण

काठमाडौँ । गत शुक्रबार जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई सहयोगस्वरुप भारतले पठाएको १० करोड भारतीय रुपैयाँ बराबरको आपतकालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज आइपुगेको छ ।

भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धताअनुरुप उक्त सामग्री नेपालगञ्ज आइपुगेको हो ।

भारतीय राजदूतावासले विज्ञप्ति जारी गर्दै भारतीय वायसेनाको विशेष विमान सी–१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर नेपालगञ्ज आएको जनाएको छ ।

यी आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरुका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लीपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन् ।

भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यी राहत सामग्री कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा नेपालका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरे ।

आगामी दिनमा राहत सामग्रीका थप खेपहरु नेपाल आइपुग्ने अपेक्षा गरिएको छ । घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरुलाई हर सम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको दूतावासले जनाएको छ ।