भारतबाट आउने सस्तो केराका कारण कैलाली, कञ्चनपुरका किसान हतोत्साही

भारतबाट आउने सस्तो केराका कारण कैलाली, कञ्चनपुरका किसान हतोत्साही

बाँके । भारतबाट आउने सस्तो केराका कारण केरा किसान हतोत्साही भएका छन । मुख्य बिक्री हुने समय दशैँमा नै भारतीय सस्तो केरा बजारमा धेरै बिक्री भएपछि किसान हतोत्साही बनेका हुन् ।

नेपालगन्जको जमुनाह नाकाबाट मात्र यो दुई महिनामा  १० करोड रुपैयाँभन्दा बढीको केरा नेपाल आयात भएको छ । चालु आर्थिक वर्ष २०८०-८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै १० करोड ३१ लाख २५ हजार मूल्यबराबरको केरा आयात भएको छ ।

चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको र यो अवधिमा दुई हजार चार सय मेट्रिक टन केरा आयात भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए । उनका अनुसार यहाँबाट आयात भएको केरा देशका विभिन्न बजारमा पुग्ने गरेको छ । स्थानीय बजारमात्र नभई बर्दिया, सुर्खेत, दाङ हुँदै चितवनको नारायाणगढसम्म केरा खपत हुने गरेको छ । 

नेपालगन्जलगायत यस क्षेत्र केरालगायतका फलफूल उत्पादनको अवस्था न्यून छ । केरा उत्पादनका लागि किसान उत्साहित भए पनि भारतबाट आउने सस्तो मूल्यको केराका कारण किसानले उत्पादनतर्फ जोड नदिएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । 

नेपालगन्ज नाका हुँदै अन्य फलफूल आयात हुँदै आएको छ । स्वदेशी केरा उत्पादक किसानले भारतबाट आउने केरा तत्काल रोक्नुपर्ने माग राख्दै आएका छन् । भारतबाट केरा आयात गरिएकाले बाँकेमा उत्पादन भएको केरा बिक्री–वितरण हुन नसक्दा किसानले लिएको ऋण जोखिममा पर्ने खतरा रहेको केराखेती गर्ने किसान देवेन्द्र अधिकारीले बताए।

उनका अनुसार बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका केरा कृषक र आश्रित परिवार बेरोजगारीको चपेटामा परी वैदेशिक रोजगारी जानुपर्ने सम्भावना बढेको छ ।