जनप्रतिनिधिकै रोहवरमा प्रमाणपत्र जलाएर सम्बन्ध विच्छेद

जनप्रतिनिधिकै रोहवरमा  प्रमाणपत्र जलाएर सम्बन्ध विच्छेद

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका-६, बावनपुरमा एक दम्पतीले जनप्रतिनिधिकै अगाडि विवाह दर्ताको प्रमाणपत्र जलाएर बिहीबार बिहान घरमै सम्बन्ध विच्छेद गरेका छन्।

३० वर्षीय जीवन धामी र २७ वर्षीय गोमा विष्ट धामीले एकआपसमा मिलेर बस्न नसक्ने भएपछि विवाह दर्ताको प्रमाणपत्र जनप्रतिनिधिकै अगाडि जलाएर सम्बन्ध विच्छेद गरेका हुन्। सम्बन्ध विच्छेद गर्ने कानुनी बाटो हुँदा पनि जनप्रतिनिधिकै अगाडी सरकारी कागजात जलाइएको हो।

गोमाले घरमा श्रीमान्‌को पटक-पटक शारीरिक र मानसिक यातना सहेर बस्न नसक्ने भएपछि बाध्य भएर सम्बन्ध विच्छेद गर्नुपरेको बताइन्। यता जिवन धामीको परिवारले भने गोमाले आफ्नो इच्छाले सम्बन्ध विच्छेद गरेको दाबी गरेको छ।

पारिवारिक बेमेलपछि केही समय अघिदेखि गोमा माइती घरमा बस्दै आएकी थिइन्। माइती पक्ष र श्रीमान्‌ पक्ष बीचको सहमतिमा बिहीबार बिहान जीवनकै घरमा पुगेर गोमाले आफूले लगाएको सुनका गहना बुझाएको बताउँछिन्। केही जोर कपडा, सिलाई-कटाई सिक्दाको ड्राफ्ट, ४ वटा भाँडाकुँडालगायतका सामानसहित जन्मदर्ताको प्रमाणपत्र साथमा बोकेर आफू माइती घर फर्केको उनको भनाइ छ। गोमाले प्राप्त गरेको नेपाली नागरिकतासमेत सम्बन्ध विच्छेदपछि काम नलाग्ने भन्दै श्रीमान् पक्षले आफैसँग राखेको उनी बताउछिन्।

आफ्नै रोहबरमा विवाह दर्ताको कागजात जलाइएको जनप्रतिनिधिबाट स्वीकार

सुरुमा वडा सदस्य जमान सिंह देउवाले विवाह दर्ता जलाउँदा आफू जीवनको घरमा नरहेको दाबी गरे पनि पछि भने उनले आफ्नै रोहबरमा विवाह दर्ताको कागजात जलाइएको स्वीकार गरे। विवाह दर्ता र नागरिकता दुवै कागजात नै जलाउन थालेका तर आफूले सम्झाई-बुझाई गरेपछि नागरिकता छोडेर विवाहको कागजात जलाएका देउवाले बताए।

'श्रीमान श्रीमती दुवैको सहमतिमा सम्बन्ध विच्छेद भएको हो। जीवन सम्बन्ध विच्छेदको पक्षमा थिएन तर गोमाले धेरै कर गरेपछि सम्बन्ध विच्छेद भएको हो।,' उनले भने, 'मेरो घरबाट १ सय मिटरको दूरीमा रहेको जीवनको घरमा एकाबिहानै मान्छेहरु भेला भएको देखेपछि म त्यहाँ गएको थिए। गोमाले अबदेखि यो घरमा बस्न सक्दिन भनेर मेरो सम्बन्ध विच्छेद गराइदिनुपर्‍यो भनेपछि विवाहको कागजात जलाएर सम्बन्ध विच्छेद गरिएको हो।'

विवाहको कागजात जलाउँदा किन नरोक्नु भएको त भन्ने प्रश्नमा देउवाले भने, 'मैले धेरै सम्झाएको हुँ, तर उनीहरुले मानेनन्।'

तर, विवाहको कागजात जलाउनमा देउवाको भूमिका शंकास्पद रहेको स्थानीयहरु बताउँछन्। कागजपत्र जलाइनु र गोमाको नागरिकता समेत श्रीमान् पक्षले काम नलाग्ने भन्दै जफत गरेर राख्नुले सुनियोजित रुपमा काम गर्न खोजिएको हुनसक्ने स्थानीय बताउँछन्।

सम्बन्ध विच्छेद गरेर अलग-अलग बनाउनेहरुले कानुन केही काम नलाग्ने रहेछ भन्ने गलत सन्देश दिन खोजेको स्थानीय एक अगुवाले बताए। यस्ता गलत कार्यले समाजमा अन्यायलाई प्रसय दिने सम्भावना बढेकोमा उनले चिन्ता व्यक्त गरे।

प्रमाणपत्र जलाउनु कानुनविपरीत : न्यायिक समिति

उता शिक्षक तथा गोमाका काका जंगबहादुर विष्टले आफूखुसी सम्बन्ध विच्छेद गरी विवाहको प्रमाणपत्र जलाउँदा पनि कानुनविपरीत नहुने भन्दै बरु उनीहरुलाई खुसी र सन्तुष्ट मिलेको जिकिर गरे।

कानुन कार्यान्वयन गराउने वडाका जिम्मेवार व्यक्तिले नै प्रमााण नष्ट गरी सम्बन्ध विच्छेद गरेर बस्न सकिने बताएपछि सोही बमोजिम सरकारी कागजपत्र जलाइएको स्रोत बताउँछ।

लम्कीचुहा नगरपालिकाका न्यायिक समितिका संयोजक एवम् उपमेयर टीका थापाले पहिले गोमाको स्वास्थ्य उपचारमा जोड दिने बताइन्। विवाह दर्ता प्रमाणपत्र जलाउनु र गाउँमा गरिएको आपसी सहमतिले सम्बन्ध विच्छेद गरिनु कानुनविपरीत भएको उनको भनाइ छ। सत्यतथ्य बुझेर न्यायिक प्रक्रिया अगाडि बढाउने थापा बताउँछिन्।

के भन्छन् गोमाका परिवार?

जोडेको घरबार नबिगार्ने चाहना हुँदाहुँदै पनि घरमा बस्ने वातावरण नभएपछि बाध्यतावश ७ वर्षीय छोरालाई छोडेर श्रीमान्‌बाट अलग हुनु परेको गोमा बताउँछिन्। २०६६ सालमा भागेर विवाह गरेका उनीहरुको सम्बन्ध १० वर्षसम्म जबरजस्ती टिकेको भन्दै पीडा सहनै नसक्ने भएपछि अलग-अलग बस्न थालेका गोमाका बुवा डबल विष्टले दाबी गरे।

पारिवारिक सम्बन्धमा सुधारका लागि पटक-पटक गाउँसमाजमा जनप्रतिनिधिसहित छलफल भए पनि उनीहरुबीच मेलमिलाप भने हुन सकेको थिएन। परिवारले शंका गर्दै शारीरिक र मानसिक यातना दिने गरेको आरोप लगाउँदै गोमाले भनिन्, 'विवाह गरेको २ वर्षमै पारिवारिक विवाद बढेकोले घर नजिकै खनायोको बोटमा डोरीले पासो लगाएर आत्महत्याको प्रयास गरेँ। घरपरिवारले थाहा पाएपछि देवरले डोरी काटेर बचाए। त्यही बेलादेखि मेरो दिमागले राम्रोसँग काम गर्न छोडेको छ। कसरी सहनसक्छु शारीरिक र मानसिक यातना?'

माइती पक्ष कमजोर भएकै कारण आफूले न्याय पाउन नसकेको गुनासो गोमाकी आमा डिक्रा विष्टलले गरिन्। न्यायको पक्षमा कसैले साथ नदिएको र आफूलाई पनि केही थाहा नभएकोले अन्यायमा परेको गोमा बताउँछिन्। 'घरको आर्थिक अवस्था कमजोर छ। मजदूरी गरेर जिविकोपार्जन गर्दै आएका छौं। छोरीको स्वास्थ्य अवस्था धेरै बिग्रेको छ। उपचार गर्नलाई पैसा छैन। गरिबीका कारण घरमा विद्युत जडान गर्न नसकी अँध्यारोमा बस्दै आएका छौं।,' डिक्रा विष्टले आफ्नाो अवस्था दर्शाइन्।

बढी चिन्ता गर्ने, निन्द्रा नपर्ने, खान मन नलाग्ने, जाँगर नचल्ने, मुटुको ढड्कन तेज हुने, शरीर दुख्ने समस्या भोग्दै आएको र गरिबीका कारण उपचार गर्न नसकेको गोमाले दुखेसो पोखिन्।