इजरायलमा मृत्यु भएका तीन नेपाली विद्यार्थीको शव पहिचान

इजरायलमा मृत्यु भएका तीन नेपाली विद्यार्थीको शव पहिचान

धनगढी । इजरायलमा हमासको आक्रमण परी ज्यान गुमाएका तीन जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ ।

तेलअभिभस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा परी ज्यान गुमाएका मध्य डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल– ८ का पदम थापा र सल्यान शारदा–३ का प्रवेश भण्डारीको शव आइतबार पहिचान भएको हो । योसँगै आठ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ । 

उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीहरूमा धनुषा सापही–६ का आनन्द साह र सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकारको शव पहिचान हुन बाँकी छ । बाँकी दुई जनाको शव पहिचानका क्रममा रहेको दूतावासले जनाएको छ ।

हालसम्म बझाङ जयपृथ्वी– ६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जुन– ४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव नेपाल ल्याइसकिएको छ । यस अघि इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये ५ जनाको शव आफन्तको जिम्मा लगाइसकिएको छ ।

 चार जनाको शव गत आइतबार आफन्तको जिम्मा लगाइएको थियो  भने यसै गरी बझाङ जयपृथ्वी– ६ का गणेशकुमार नेपालीको शव भने बिहीबार राति मात्र धनगढी पुगेसँगै शव आफन्तको जिम्मा लगाइएको थियो । हमास आक्रमणबाट मारिएकामध्ये सात जना सुदूरपश्चिम प्रदेशका हुुन् ।

दूतावासका अनुसार हमासको आक्रमणमा परी घाइते भएका चार जना विद्यार्थीमध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज गरिएमध्ये एक जना नेपाल आइसकेका र अर्का एक जना दूतावासको रेखदेखमा छन् । अन्य दुई जना घाइतेको भने इजरायलमै उपचार भइरहेको  दूतावासले जनाएको छ । सोही आक्रमणमा परेका कञ्चनपुर भीमदत्त–३ का विपिन जोशी अझै सम्पर्कविहीन छन् । 

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए ।

No description available.