महाकाली पुलको भौतिक प्रगति ३५ प्रतिशत

महाकाली पुलको भौतिक प्रगति ३५ प्रतिशत

कञ्चनपुर :  भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पक्की पुल निर्माणकार्य ३५ प्रतिशत पूरा भएको छ । महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका इन्जीनियर शुलभ न्यौपानेले हालसम्म पुल निर्माणकार्यको ३५ प्रतिशत प्रगति भएको जानकारी दिए । पुलको ३० वटा मुख्य पिल्लरमध्ये १२ वटा पिल्लर निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

८ सय मिटरको लम्बाइ र २३.८ मिटर चौडाइ रहेको पुल निर्माणकार्य सँगै गड्डाचौकीसम्म जोड्ने ६ किमि र महाकाली नगरपालिकाको चाँदनीतर्फ डेढ किमि चार लेनको सडक बनिरहेको छ भने गड्डाचौकी र भुजेला खोलामा २ वटा साना पुलको काम अन्तिम चरणमा रहेको महाकाली पुल योजना कार्यालयले जनाएको छ । 

 

उनका अनुसार पुल निर्माणकार्य तीव्र रूपमा भइरहेको छ । १६ हेक्टर जग्गा र करिब ३.५६ हेक्टर ऐलानी जग्गालाई मुआब्जा वितरणको काम पनि सकिन लागेको आयोजना कार्यालयका इन्जीनियर न्यौपानेले बताए । ३ अर्ब २७ करोड ९३ लाख ३४ हजार लगानीमा ३६ महिनाको समयावधिमा पुल निर्माण हुने सम्झैता गरिएको थियो । 

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले महाकालीमा निर्माण भइरहेको पुलले सुदुरपश्चिममात्र नभई देशको मुहार फेर्न सक्ने बताए । उनले भारतको उद्योग नगरिका रूपमा परिचित उत्तराखण्ड महेन्द्रनगरबाट नजिक भएकाले कम लागतमा धेरै फाइदा पुग्ने बताए ।

नेपालमा क्षेत्रफलको हिसाबले ठूला पुल बने पनि ठूलो लागतमा पहिलो चोटि महाकालीमा चार लेनको पक्की पुल बन्न लागेको हो । महाकालीमा बन्ने चार लेनको पक्की पुल, ८ किमि सडक र पुलको क्षेउमै पर्यटकको मनोरन्जनका लागि पोखरीसमेत निर्माण गरिने महाकाली पुल योजना कार्यालय महेन्द्रनगरले जनाएको छ ।

पुल निर्माणपछि कञ्चनपुर नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाकाका रूपमा विकसित हुनेछ । महाकालीमा पुल निर्माण भएपछि सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खुल्ने विश्वास गरिएको छ । महाकालीमा पक्की पुल निर्माणपछि भारतको पञ्जाव, हरियाणा, गुँडगाव, दिल्ली, नोयडा, रुद्रपुरलगायत भारतका ठूला औद्योगिक सहर महेन्द्रनगरबाट छोटो दूरीमा रहेका ठूला औद्योगिक क्षेत्रबाट सहज रूपमा वस्तु आयात–निर्यात गर्न सकिने छ । कञ्चनपुर जिल्लाको मात्र नभई समग्र प्रदेशको आर्थिक विकास र नेपाल–भारत सहज आवागमनका लागि पनि महाकाली नदीमा निर्माण भइरहेको पक्की पुल महत्वपूर्ण देखिन्छ । 

२०७४ भाद्रमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको पुल निर्माणकुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सट्रक्सन कम्पनी (सिएफासी) को ज्वाइन्ट भेन्चरमा भइरहेको छ । पुल योजना कार्यालय र निर्माण कम्पनीले कामलाई तीव्रता दिँदै समयमै काम सकिनेमा ढुक्क छन् ।