दरबार हत्याकाण्डको १८ वर्ष : घटना अझै रहस्य र शंकाकै घेरामा

दरबार हत्याकाण्डको १८ वर्ष : घटना अझै रहस्य र शंकाकै घेरामा

नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार हत्याकाण्ड भएको १८ वर्ष पुगेको छ ।

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाउनुपरेको २०५८ साल जेठ १९ गते शुक्रबारको त्यो घटना अझै रहस्यमय नै छ । राजा वीरेन्द्रसहित रानी ऐश्वर्य राज्यलक्ष्मी, छोरा युवराज दीपेन्द्र, छोरा राजकुमार निराजन र छोरी राजकुमारी श्रुति मारिएका थिए ।

तत्कालीन जनप्रिय राजा वीरेन्द्रको निधन भएपछि अस्पतालमा अचेतावस्थामै रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो । जेठ २२ मा उनको पनि मृत्यु भएको घोषणा गरिएसँगै वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए ।

हत्याकाण्डको सात वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको समाप्ति भई गणतन्त्रको उदय भयो । उच्च सैन्य घेराभित्र रहेको नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको रहस्य अहिलेसम्म खुल्न सकेको छैन ।

तत्कालीन सभामुख तारानाथ रानाभाट तथा प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय सम्मिलित उच्चस्तरीय छानबिन समितिले सो घटनाको दोषी दीपेन्द्रलाई देखाई प्रतिवेदन सार्वजनिक गरेको थियो । सो समितिले घटनासँग जोडिएका पात्रहरूको बयानलाई आधार बनाएर प्रतिवेदन तयार पारेको थियो । तर साे प्रतिवेदनप्रति आम जनताकाे विश्वास लागेन र घटना अहिले पनि शंकाकै घेरामा रहेकाे छ ।

हत्याकाण्डलगत्तै तत्कालीन राजा ज्ञानेन्द्रकाे निर्देशनमा घटना भएकाे त्रिभुवन सदनलाई भत्काउन लगाइएकाे थियाे । हत्याकाण्डको खास रहस्य पत्ता लगाउन नसकिए पनि नारायणहिटी संग्रहालयले दरबार त्रिभुवन सदनकाे पुनर्निर्माण गरेको छ । दरबार हत्याकाण्ड भएको स्थानको स्मरण गराउन त्रिभुवन सदन निर्माण गरी संग्रहालयका रुपमा संरक्षण गरिएको हो ।

अहिले नारायणहिटी दरबारलाई संग्राहलय बनाइएको छ । गत वर्षदेखि राजाले लगाउने गरेको श्रीपेचका साथै सुनकाे राजदण्ड समेत सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएकाे छ ।