त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटः नेपाल चार विकेटले पराजित

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटः नेपाल चार विकेटले पराजित

काठमाण्डौ । यूएईले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । फाइनल खेलमा घरेलु टोली नेपाललाई चार विकेटले हराउँदै यूएईले उपाधि जितेको छ । जितको लागि एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको यूएईले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । 

यूएईका मोहम्मद वासिमले ४५ रन बनाए । यूएईलाई जितको लागि अन्तिम ६ बलमा ७ रन चाहिएको थियो । पहिलो बलमा करण केसीलाई बासिल हामिदले कभरमा दुई रन प्रहार गरेका थिए । दोस्रो बल डट राखेपछि चार बलमा पाँच रन चाहिएको थियो । तेस्रो बलमा एक रन दिँदा लगत्तै वाइड फाले । चौथो बलमा आयनले एक रन बटुले । दुई बलमा दुई रन चाहिएको थियो । पाँचौँ बलमा बासिलले छक्का हान्दै रोमाञ्चक जित दिलाए ।

नेपालका अभिनाश बोहरा र गुल्सन झाले समान २ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५० रन बनाए । 

अब सोमवारदेखि आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट शुरु हुनेछ । समूह ए मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन् ।