बैतडी । दोस्रो संस्करणको बासुलिङ्ग प्रिमियर लिग (बीपीएल) क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका १० रातामाटाको पञ्चकोटी क्रिकेट क्लबले जितेको छ ।
विजयादशमीको अवसरमा बैतडीको सतबाँझमा बुधबार आयोजित प्रतियोगिताको फाइनलमा आयोजक बासुलिङ्ग क्रिकेट क्लबलाई ३१ रनले स्तब्ध पार्दै पञ्चकोटीले उपाधि हात पारेको हो।
सुर्नया गाउँपालिका २ स्थित सिद्धखाली खेलमैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको पञ्चकोटीले निर्धारित १५ ओभरमा ८ विकेट क्षतिमा १६४ बनाएको थियो।
जवाफमा आयोजक बासुलिङ्ग १४ ओभरमा १३३ रनमा समेटिएको पञ्चकोटी क्रिकेट क्लवका अध्यक्ष उत्तम चन्दले जानकारी दिए।
उपाधिसँगै पञ्चकोटी क्रिकेट क्लबले ३५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पायो भने बासुलिङ्ग क्रिकेट क्लवले १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी म्यान बासुलिङ्ग क्रिकेट क्लबका आकाश चन्दले २ हजार ५ सय ट्रफि, मेडल र प्रमाणपत्र पाए। खेलमा उत्कृष्ट ब्याटसम्यान पञ्चकोटीका अंशु बुडाल र उत्कृष्ट बलर पञ्चकोटीकै मुकेश थापा चुनिए। दुवैलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो।
बासुलिङ्ग क्रिकेट क्लवको आयोजनामा कात्तिक २ गतेसुरु भएको प्रतियोगितामा १६ टोलीको सहभागिता थियो।