सुदूरपश्चिममा ५९ हजार जनसंख्या बेरोजगार

सुदूरपश्चिममा ५९ हजार जनसंख्या बेरोजगार

धनगढी : सुदूरपश्चिममा काम गर्ने उमेर समुहका ५९ हजार जनसंख्या बेरोजगार रहेको पाइएको छ । यस प्रदेशमा काम गर्ने उमेर समुहको जनसख्या मध्ये बढी शहरी क्षेत्रमा नै बेरोजगार रहेको पाइएको हो।

१५ वर्ष वा सो भन्दा बढी उमेर समुहका १८ लाख ८३ हजार जनसंख्या रहेको यस प्रदेशमा ५९ हजार जनसंख्या वेरोजगार रहेको तथ्यांकले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको नेपाल श्रमशक्ति सर्वेक्षण (तेस्रो) नतिजा अनुसार यस प्रदेशको शहरी क्षेत्रमा ४० हजार र ग्रामीण क्षेत्रमा १९ हजार जनसंख्या वेरोजगार रहेका छन् ।

प्रदेशमा बेरोजगारी दर ११ दशमलव पाँच प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। सर्वेक्षण अनुसार देशभरीमै सबैभन्दा कम रोजगारमा रहेको जनसंख्या सुदूरपश्चिम नै रहेको छ। तथ्यांक अनुसार सबैभन्दा रोजगारमा रहेको जनसंख्या प्रदेश नम्बर ३ मा ४३ दशमलब आठ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २४ दशमलब एक प्रतिशत रहेको छ ।

यस प्रदेशमा प्रदेशमा दुई लाख ९४ हजार पुरुष र एक लाख ६१ हजार महिला गरि चार लाख ५५ हजार जनसंख्या रोजगार रहेको सो तथ्यांकमा उल्लेख छ । देशभरीमै श्रम शक्तिमा सहभागिता दर सबैभन्दा बढी ४७ दशमलब एक प्रतिशत ३ नं प्रदेशमा रहेको र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २७ दशमलब तीन प्रतिशत रहेको देखाएको छ ।

सुदूरपश्चिम प्रदेशमा श्रमशक्तिमा सहभागिता दरमा पुरुष ४५ दशमलब छ प्रतिशत र महिला १५ दशमलब सात प्रतिशत रहेको छ । प्रतिवेदन अनुसार प्रदेशमा औसत मासिक आम्दानी १६ हजार तीन सय ५६ रहेकोमा पुरुषको १७ हजार चार सय ४२ र महिलाले १३ हजार पाँच सय ८३ रहेको छ ।