सुपथ मूल्य पसलमा छैन चिनी, बजारमा छ्यापछ्याप्ती

सुपथ मूल्य पसलमा छैन चिनी, बजारमा छ्यापछ्याप्ती

धनगढी । सुदूरपश्चिम प्रदेशमा बर्सेनि ठूलो परिमाणमा भारतबाट अवैध रूपमा चिनी भित्रिने गरेको तथ्यांकले देखाएको छ । कैलाली भन्सार कार्यालयका अनुसार वार्षिक हजारौं टन चिनी अवैध रूपमा भित्रिइरहेको छ । सामान्यतयाः एकजनाले एक वर्षमा छ किलो चिनी उपभोग गर्छन् । यस आधारमा सुदूरपश्चिम प्रदेशमा वार्षिक २० हजार मेट्रिकटन बढी चिनीको आवश्यकता पर्दछ ।

कैलाली भन्सार कार्यालयका अनुसार कानुनी रुपमा विगत दुई वर्षयता चिनी नाकाबाट आयात भएको छैन् । भन्सारबाट चिनि आयात नभएपनि बजारमा छ्यापछ्याप्ती चिनि पाइरहेको छ । तर, सरकारद्धारा सञ्चालन भएको सुपथ मूल्य पसलमा भने चिनी छैन् ।

सुदूरपश्चिममा रहेको दुई वटा चिनी मिलबाट वार्षिक पाँच हजार टन चिनी उत्पादन भइरहेको छ । आन्तरिक आपूर्ति तथा आयातबाट आपूर्ति हुने चिनीको परिमाण र मागको तुलना गर्दा वार्षिक झण्डै आठ देखि नौ हजार मेट्रिक टन चिनी अवैध रूपमा पैठारी भइरहेको भन्सारको तथ्यांकमा रहेको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन धनगढी वितरण शाखाका अनुसार सुदूरपश्चिम प्रदेशको मागको ठूलो हिस्सा अवैध रूपमा भित्रिने चिनीले धान्ने गरेको छ । बैध रूपमा आयातित चिनीको मूल्य अहिलेको बजार मूल्यभन्दा बढी हुने बताइन्छ । स्रोतका अनुसार धनगढीका सातआठ वटा व्यापारिक फर्मले ठूलो परिमाणमा भारतबाट अवैध रूपमा चिनी भित्र्र्याउने गरेका छन् ।

धनगढीमा अहिले चिनीको मूल्य प्रतिकिलो ९५ रुपैयाँ रहेको छ । भारतको गौरीफन्टा बजारबाट भरियामार्फत अवैध रूपमा भित्र्र्याइने चिनीको मूल्य प्रतिकिलो ८० रुपैयाँ पर्ने गर्दछ । सो मूल्यमा खरिद गरेर ल्याइएको चिनी होलसेल पसललाई ८५ रुपैयाँका दरले तथा होलसेल पसलले खुद्रा पसललाई प्रतिकिलो ९० रुपैयाँका दरले बिक्री गर्ने गरेको पाइएको छ । खुद्रा पसलले ग्राहकलाई प्रतिकिलो ९५ रुपैयाँका दरले बिक्री गरिरहेका छन् ।

अवैध रूपमा ठूलो परिमाणमा चिनी भित्रिने गर्दा कैलालीमा सरकारको राजश्व संकलनमा पनि प्रभाव परेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार अहिलेसम्म सरकारले चिनि आयात नगर्दा सुपथ मूल्य पसलमा चिनि अभाव रहेको छ । 

दशँ तिहार तथा छठ जस्ता ठुला पर्वमा मानिसले चिनी, नुन, खाद्यान्न लगायत प्रयोग गर्छन । तर, सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा चिनि नपाउँदा उपभोक्ताहरु नीजि पसल तथा भारतीय बजारमा खरिद गर्न जान बाँध्य भएका छन् । धनगढीमा रहेका सुपर मार्केट चौलानी, भाटभटेनी लगायतले सरकारभन्दा सहुलियत दरमा चिनि दिने गरेका कारण सो प्रति स्थानीयको आकर्षण रहेपनि अहिले भारतीय बजारनै प्राथमिकतामा रहेको छ ।

दशैँ तिहार र छठ पर्वलाई लक्षित गर्दै व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय, धनगढीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदा पनि चिनि नपाउँदा आकर्षण घटेको छ । धनगढी १ की मेनुका जागरी शुक्रबार चिनि किन्न धनगढीको सहुलियत पसल गएको भएपनि चिनि नपाएको बताउँछिन् । 

सुपत मुल्य पसलमा चिनि नपाउँदा नीजि पसलमा महंगोमा खरिद गर्नुपरेको धनगढी ५ जाँइका राधिका ओलीले बताइन् । उनले चाडपर्वका समय चिनि धेरै चाहिने भएपनि तर, सुपत मुुल्य पसलमा नराख्दा बाहिरबाट खरिद गर्नुपरेको बताइन् । अरु खाद्यान्न पाइन्छ तर, चिनि पाइदैन, यसले सुपथ पसल नाममात्रैको भएको छ’ उनले भनिन् ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय धनगढीका सहायक प्रवन्धक तेज बहादुर कुँवरले सुपत मुल्य पसलमा अन्य खाद्यन्न सामाग्री भएपनि चिनि नआएको बताए ।  बिगत ३ वर्षदेखि केन्द्रबाट नै चिनि नपठाएको उनले बताए । 

‘अहिले हामी सँग चिनि छैन् । यसरी भन्नुुपर्दा सुदूरपश्चिम र तराइका जिल्लामा चिनि नै आएको छैन्’, उनले भने– ‘हाम्रो यता यो वर्ष गरेर तेस्रो पटक हो । चिनी आयात भएको छैन् ।,’ उनले अहिले काठमाडौँ उपत्यका बाहेक अन्य जिल्लामा चिनि नआएको बताए । 

उनले भने ‘टेन्डर प्रक्रिया आयातका लागि केन्द्रले नै गर्ने हो । तर त्यो अहिले प्रक्रियामै छ । केन्द्रले नै नपठाएपछि भने यहाँ समस्या छ ।’  उनले केन्द्रले नपठाए सम्म कहिले आउँछ भन्न नसकिने बताए ।  ठुला पर्वमा माग स्वतह बढ्ने गरेपनि तर, आयात नै हुन नसक्दा ग्राहकलाई बितरण गर्न नसकेको उनको भनाई छ । 

कार्यालयले चाडपर्व लक्षित गरी नुन, तेल चिउरा, दाल सुपथ मूल्य पसलमा रु दुईदेखि रु सातसम्म छुट दिएर बिक्री गर्दै आएको कार्यालयका सहायक प्रवन्धक कुवँरले बताए । उनले सुदूरपश्चिममा कैलालीको धनगढी, अत्तरिया र टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, डडेल्धुरा, डोटीको दीपायल र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताए ।

‘यस वर्ष धनगढी र अत्तरीयामा नुन, चिउरा, तेल, पिठो, मैदा र दाल बिक्री गर्दैछौँ,’ उनले भने ‘बाँकी ठाउँमा नुन मात्र बिक्री गर्दैछौँ।’

व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख इन्जिला बस्नेतले डोटी र बैतडीबाहेक सुदूरपश्चिमका सात जिल्लामा सुपथ मूल्य पसल असोज २१ गते आइतबारदेखि सञ्चालनमा आएको बताइन् । बजार मुल्य भन्दा यहाँ खाद्यन्नमा सबै खाने कुरामा छुुट रहेको उनले बताइन् । 

‘चाडपर्वलाई लक्षित गरी चामल प्रतिक्विन्टल रु पाँच सय छुटमा पसलबाट बिक्री गरिँदैछ’, उनले भनिन, ‘आगामी मंसिर ३ गतेसम्म उक्त पसल सञ्चालन हुनेछन् ।’

उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले हरेक वर्ष यहाँ सुपथ मूल्य पसल सञ्चालन गरिँदै अएको छ । यहाँका पहाडी जिल्लाका लागि चालु आर्थिक वर्षको सुरुआतमा ४० हजार क्विन्टल चामल कोटा निर्धारण गरिएको छ ।

सरकारले उखु उत्पादनमा ध्यान दिन सकेनः व्यवसायी

कञ्चनपुरमा भागेश्वर सुगर एण्ड केमिकल इण्डष्ट्रिज सञ्चालन गरिरहेका उद्योगी शंकर बोगटीले उखु उत्पादनमा हरास आउँदा देशभरीमै चिनि माग अनुसार हुन नसकेको बताए । उनले वार्षिक १३ लाख मेट्रिक टन चिनी उत्पादन गर्न सक्ने क्षमता भएपनि उखु नपाउँदा सो अनुसार काम हुन नसकेको बताए ।

उनले भने –‘हामीले किसानलाई विउ वितरण, उखु खरिद गरिरहेको भएपनि सिँचाई, विद्युत लगायतमा सरकारले उखु कृषकलाई सहुलियत दिन सकेको छैन् । उखु उत्पादनमा सरकारको जोड नहुँदा चिनी माग अनुसार छैन् ।’

उनले सुदूरपश्चिम प्रदेशमा दुई वटा चिनी मिल भएपनि भारतीय बजारका चिनिले बजार पाइरहेको बताए । उनले भने –‘हामीले उत्पादन गरेको चिनि यहाँका व्यवसायी तथा उपभोक्ताहरुले नलग्दा अन्यत्र पठाउनुपरेको छ । सरकारले हामीले उत्पादन गरेको चिनि खरिदमा पनि ध्यान दिँदैन् ।’ 

सुपथमा एक लाख बढीको कारोबार

सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा आएको सुपथ मूल्य पसलमा एक लाख बढी कारोबार भएको छ । चालु आर्थिक वर्षको असोजसम्ममा सुपथ मूल्य पसलमा एक लाख ६२ हजार छ सय १८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा तीन लाख ४५ हजार सात सय १६ रुपैयाँको कारोबार सुपथ मूल्य पसलमा भएको थियो । सुपथ मूल्य पसलमा सबैभन्दा बढी दुई लाख ८१ हजार सात सयको नुन विक्री भएको थियो । 

चालु आर्थिक वर्षमा एक लाख ४३ हजार चार सय ७८ को नुन विक्री भएको साल्ट ट्रेडिङ्ग कर्पोरेशनले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा बढी कैलालीमा चार हजार चार सय ५५ किलोग्राम नुन विक्री भएको छ । 

छैन चिउरा तेल

साल्ट टेर्डिङ कर्पोरेशनले सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको भएपनि पाँच वटा पसलमा नुनबाहेक अन्य कुरा पाउँदैन् । कार्यालयका अनुसार महेन्द्रनगर, दीपायल, बैतडी, डडेल्धुरामा नुनबाहेक केही नपाउने गरेको जनाइएको छ ।

कैलालीको टीकापुरमा सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा नुन समेत नपाउने गरेको जनाइएको छ । टीकापुरमा सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलबाट चालु आर्थिकमा वर्षमा नुन, चिउरा र तेल नपाउँदा विक्री शून्य रहेको जनाइएको छ । सरकारले यसै वर्षदेखि टीकापुरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको थियो तर, नुनसमेत नपाउँदा सो क्षेत्रका मानिसले अन्यत्र गएर खरिद गर्नुपर्ने बाँध्यता रहेको छ ।

कार्यालयका अनुसार महेन्द्रनगरमा तीन सय आठ, अत्तरियामा एक सय ३१, दीपायलमा तीन सय ५१, बैतडीमा आठ सय २६, डडेल्धुरामा एक हजार नौ सय र धनगढीमा चार हजार चार सय ५५ किलो नुन विक्री भएको छ भने चिउरा अत्तरियामा पाँच किलो, धनगढीमा ३९ र तेल अत्तरियामा १५ तथा धनगढीमा ४९ किलोग्राम विक्री भएको तथ्यांकमा रहेको छ ।