त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलो पटक कलेजो प्रत्यारोपणमा सफलता प्राप्त गरेको छ । शनिबार राति शिक्षण अस्पतालमा प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीको नेतृत्वको टिमले पहिलो पटक कलेजो प्रत्यारोपण गरेको हो । 

डाक्टर भण्डारीका अनुसार एक जना छोरीले बुवालाई कलेजो दान गरेकी हुन् । उहाँका अनुसार कलेजो प्रत्यारोपण गर्न उहाँको टिमलाई झण्डै १६ घण्टा लागेको थियो ।

शुक्रबार बिहानदेखि सुरु भएको शल्यक्रिया शनिबार मध्य रातमा सकिएको थियो । डाक्टर भण्डारीले सन् २००९ मै अस्पतालमा कलेजो प्रत्यारोपण गर्ने सपना देखेको भए पनि १० वर्षपछि मात्रै आफ्नो सपना पूरा भएको बताउनु भएको छ । उहाँले आफूले विदेशमा गएर यसबारे थुप्रै अध्ययन गरेको बताउनुभएको छ । 

सबैको टिम वर्कले मात्रै अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको भन्दै डाक्टर भण्डारीले शल्यक्रियामा संलग्न डाक्टर तथा नर्सहरुको टोलीलाई धन्यवाद दिनु भएको छ । यसअघि भक्तपुरमा रहेको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कलेजोको सफल प्रत्यारोपण भए पनि त्यसले निरन्तरता पाउन सकेको छैन । 

त्रिवि शिक्षण अस्पतालमै कलेजोको सफल प्रत्यारोपणपछि अब बिरामीलाई भारत जानुपर्ने बाध्यता हट्ने डाक्टर भण्डारीले बताउनु भएको छ